एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार विश्वकप विजेता अर्जेन्टिनी कप्तान क्याटलान क्लब बार्सिलोना फिर्ता नहुने भएका छन्। विश्वस्त श्रोतका अनुसार मेस्सी बार्सिलोना फिर्ता नहुने भएका हुन्। मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहन तयार रहेको विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्।
यसै बीच चर्चित ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले पनि यो खबरलाई पुष्टि गरेका छन्। बुधबार राति रोमानोले मेस्सी पिएसजीमै रहने खबर आफूले प्राप्त गरेको बताएका हुन्। रोमानोका अनुसार मेस्सी र पिएसजी बीच एक प्रकारको मौखिक सहमति भइसकेको छ।
मेस्सी पिएसजीमा सन् २०२३ पछि पनि रहन तयार रहेको र छिट्टै नै सम्झौता हुने रोमानीको भनाई छ। रोमानोका अनुसार मेस्सीले कहिले पनि इन्टर मियामीको प्रस्ताव स्वीकार गरेका थिएनन्। बार्सिलोनासँग त मेस्सीले छलफल नै गरेका थिएनन्। दुई क्लबले मेस्सीलाई सम्पर्क गरेको कुरा भने सत्य रहेको रोमानोले सामाजिक संजालमा उल्लेख गरेका छन्।
मेस्सीले सम्झौता थपका लागि मौखिक सहमति जनाएसँगै पिएसजीले नयाँ सम्झौता तयार पारिरहेको बताइएको छ। मेस्सीको सम्झौता कहिले सम्मका लागि हुने भन्ने बारे भने कुनै पनि जानकारी बाहिर आएको छैन।
मेस्सी सन् २०२१ मा पिएसजी आइपुगेका हुन्। बार्सिलोनामा रहन नमिल्ने भएपछि मेस्सीले पिएसजीसँग सम्झौता गरेका थिए। पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो सिजनमा भने मेस्सी उच्च प्रदर्शन गरिरहेका छन्।