मेस्सी बार्सिलोना फिर्ता नहुने दावी, यी हुन सक्छन् दुई कारण !

एजेन्सी – पत्रकार मार्कल लोरेन्टेको दावीलाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोना फर्किने धेरै नै कम सम्भावना छ। हालसालै एक ट्वीट गर्दै लोरेन्टेले मेस्सी बार्सिलोना फर्किने सम्भावना नरहेको दावी गरेका हुन्।

विभिन्न कारणहरुले गर्दा मेस्सी बार्सिलोना फिर्ता नहुने लोरेन्टेको दावी छ। लोरेन्टेले ट्वीटर मार्फत मेस्सी किन बार्सिलोना फिर्ता हुन सक्दैनन् भन्ने प्रष्ट पार्ने प्रयास गरेका छन्। सन् २०२१ मा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आफूलाई झुक्याएको मेस्सीको बुझाई रहेको लोरेन्टे दावी गर्छन्।

त्यस्तै बार्सिलोना आर्थिक समस्यासँग जुधिरहेका कारण पनि मेस्सी बार्सिलोना फिर्ता हुने सम्भावना नदेखिएको लोरेन्टेको दावी छ। गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले आर्थिक श्रोत जुटाउन विभिन्न तरिका अपनाएको थियो। त्यसबेला बार्सिलोनाले टेलिभिजन अधिकारको हिस्सा समेत बिक्री गरेको थियो।

मेस्सी फिर्ता हुन क्लबलाई पर्ने भार बहन गर्ने अवस्थामा बार्सिलोना नरहेको लोरेन्टेले ट्वीटर मार्फत बुझाउन खोजेका छन्। लोरेन्टेले मेस्सीलाई बार्सिलोनाले फिर्ता लैजान नसक्ने दावी गरेपनि बार्सिलोना भने मेस्सीलाई फकाउन प्रयास गर्ने पक्षमा देखिएको छ।

बार्सिलोनाका अध्यक्ष, प्रशिक्षक देखि उच्च अधिकारीहरु समेत मेस्सीलाई फिर्ता ल्याउन क्लबले चाहेको सार्वजनिक रुपमै बताइरहेका छन्। तर बार्सिलोनाको सो योजना सफल हुन्छ वा असफल हुन्छ भन्ने कुरा भने समयले नै बताउनेछ।

त्यस्तै उता पिएसजी भने कुनै पनि हालतमा मेस्सीलाई क्लबमै अड्याउने पक्षमा छ। आर्थिक रुपमा समेत सवल रहेको पिएसजीले मेस्सीलाई क्लबमा अड्याउन आकर्षक प्याकेजको प्रस्ताव गर्न सक्छ। त्यति मात्र नभई मेस्सी पिएसजीमा सन्तुष्ट पनि देखिएका छन्।

प्रकाशित : , ०, ०२०:४२

मेस्सीले हात पारे वल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड !