एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभि हर्नान्डेजले अर्जेन्टिना विश्वकपको हकदार रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा जाभीले लियोनेल मेस्सी र अर्जेन्टिना विश्वकपको हकदार रहेको बताएका हुन्।
अर्जेन्टिनाले विश्वकप जितेको विषयमा प्रश्न गरिँदा जाभीले अर्जेन्टिना विश्वकपमा अन्य टोलीहरु भन्दा राम्रो थियो भन्ने दावी गरे। त्यसक्रममा जाभीले मेस्सी जस्तो उत्कृष्ट खेलाडीसँग विश्वकप उपाधि नहुनु अनौठो कुरा थियो भन्ने बताउन पनि छुटाएनन्।
“अर्जेन्टिना वास्तवमै [विश्वकप] को हकदार थियो। उनीहरुले लियोनेल मेस्सी जस्तो राम्रो खेले। इतिहासकै उत्कृष्ट खेलाडीले विश्वकप नजितेको कुरा अलि अनौठो थियो। तर अब उनीसँग अब विश्वकप उपाधि छ। मेस्सी साँच्चै नै विश्वकपका हकदार छन्।”,जाभीले भने।
यस्तै जाभीले विश्वकप फाइनल रोमान्चक भएको पनि बताए। अर्जेन्टिना र फ्रान्स बीचको खेललाई उनले असाधारण भने। दुई टोली बीचको खेल आफूले देखेको खेलहरु मध्येकै उत्कृष्ट रहेको जाभीको भनाई छ।
उनले भने,”दर्शकका लागि यो असाधारण फाइनल रह्यो। मलाई जुलेस [काउन्डे] र ओस्माने [डेम्बेले] को लागि नराम्रो लाग्यो। तर यो शानदार थियो, मैले देखेको उत्कृष्ट खेलहरू मध्ये यो एक थियो।”
जाभी अहिले बार्सिलोनाको प्रशिक्षक छन्। कुनै एक बेला उनी मेस्सीसँगै खेल्थे। मेस्सी र जाभीले बार्सिलोनाबाट कयौं उपाधि समेत जितेका थिए। खेल जीवनपछि भने जाभी प्रशिक्षण पेशामा आवद्ध भएका हुन्।