विश्वकप २०२६: ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने, १ सय भन्दा बढी खेल हुने !

FILE PHOTO: The Official FIFA World Cup Trophy is seen before a news conference in New York City, New York, U.S., June 17, 2022. REUTERS/Eduardo Munoz

एजेन्सी – ४८ राष्ट्र सहभागी, तीन आयोजक राष्ट्र र एक सयभन्दा बढी खेलहरू सन् २०२६ को विश्वकपका विशेषता हुन्। सफलतापूर्वक कतार विश्वकपको आयोजना सकिएपछि फिफा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको तयारीमा जुट्नेछ।

आइतबार विश्वकप फाइनलले २२औं संस्करणको विजेता पाइसकेको छ भने अब फिफाको ध्यान महत्वाकांक्षी योजना २०२६ को विश्वकपतर्फ मोडिएको छ। ९२ वर्षको विश्वकप इतिहासमा पहिलो पटक तीन आयोजक राष्ट्रले आतिथ्यता गर्दै छन्, ती राष्ट्र हुन्, क्यानडा, मेक्सिको र अमेरिका। आगामी विश्वकपले सबैको ध्यान तान्नेछ।

किनकि सन् १९९८ देखि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएको विश्वकप आगामी संस्करणबाट ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। सन् २०१६ मा जियानी इन्फान्टिनो विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्ष बनेदेखि नै उनले यो योजना अगाडि बढाएका थिए। एकै पटक १६ टिम बढाउँदै उनले विश्वकपको आकारमा ठूलो परिवर्तनको प्रयास गरेका छन्। सन् १९३० मा भएको पहिलो संस्करणमा १३ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए। सन् १९३४ देखि १९७८ सम्म त्यसलाई बढाएर १६ राष्ट्रमा पुर्‍याइयो। तर, १९८२ पछि फेरि यो संख्या बढाएर २४ राष्ट्रमा पुगेको थियो। विश्वकपमा ४८ राष्ट्र पुर्‍याइएपछि त्यसको फाइदा एसिया र अफ्रिकालाई पुग्नेछ।

नयाँ फरम्याटअनुसार अफ्रिकाले ९ वटा क्वाफाइङ स्लट प्राप्त गर्नेछ। जसले यसअघि पाँचवटा पाउँदै आएको थियो। यता, एसियाले बढेपछि आठवटा स्लट प्राप्त गर्नेछ। ‘हाम्रा लागि यो स्वर्णबाट आएको अवसर हो,’ नाइजेरिया पूर्वअन्तर्राष्ट्रिय खेलाडी सन्डे ओलिसेले भने, ‘म जहिल्यै पनि अफ्रिकाबाट विश्वकप खेल्ने प्रतिनिधित्व बढ्नुपर्छ भन्ने मान्यता राख्दै आएको थियो। धेरै समय विश्वकप खेलेमा मात्र त्यहाँको उपस्थितिलाई सार्थकता बनाउन सकिन्छ। एक अर्ब जनसंख्या भएको हाम्रो महादेशमा सहभागिता बढ्नु पर्दथ्यो।’ यो महादेशका फुटबल महारथी इजिप्ट, अल्जेरिया र नाइजेरिया नै कतार विश्वकपमा छनोट हुन असफल रहे। युरोपका १३ राष्ट्रले विश्वकप खेल्दै आएका थिए।

अब यो संख्या बढाएर १६ पुर्‍याइएको छ। दक्षिण अमेरिकाबाट पनि ६ राष्ट्रले विश्वकप खेल्ने भएका छन्। आगामी विश्वकपमा कन्काकाफमा रहेका क्यानडा, अमेरिका र मेक्सिको तीनै राष्ट्र आयोजक रहेकाले सन् २०२६ मा यो क्षेत्रबाट ६ राष्ट्रले विश्वकप खेल्नेछन्। प्लेअफ मार्फत दुई राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्। फिफाले एक समूहमा तीन राष्ट्र राख्ने गरी १६ समूह बनाउने संकेत गरेको छ। यसको अर्थ प्रत्येक समूहका दुई टोलीले अन्तिम ३२ मा स्थान बनाउनेछन्। तर, चार टोलीको समूह नै प्रभावकारी देखिएकाले फिफाले यसबारे विचार गर्ने इन्फान्टिनोको भनाइ छ।

चार टोलीको एक समूह भएमा कुल १२ समूह हुनेछन्। त्यो फरम्याटअनुसार कुल १०४ खेल हुनेछन्। कतार विश्वकपमा कुल ६४ खेल भएका थिए। फाइनलमा पुग्ने एक टोलीले आठ खेल खेल्नु पर्ने प्रावधान छ। अब आयोजकले पनि रंगशालामा १६ वटा रंगशाला तयार गर्नुपर्नेछ। यसअघि ८ वटा रंगशाला आवश्यक थियो। यो प्रावधानअनुसार अमेरिकामा ११ भेन्यु, मेक्सिकोमा तीन भेन्यु र क्यानडामा दुई भेन्युमा खेल हुनेछन्। इन्फान्टिनोले आगामी विश्वकपबाट फिफाको आय पनि बढ्ने आशा गरेका छन्। ७.५ बिलियन आयबाट आगामी सन् २०२६ को विश्वकपमा ११ बिलियन डलर प्राप्त हुने फिफाको अपेक्षा छ।

-नागरिक दैनिकबाट

प्रकाशित : , ०, ००८:३०

बार्सिलोनाका स्टार उडाउने टोटेनह्यामको योजना, गोप्य योजना बन्यो !