एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार प्रिमियर लिग क्लब टोटेनह्याम हटस्परले क्याटलान क्लब बार्सिलोनाका स्टार खेलाडी माथि नजर लगाइरहेको छ। बार्सिलोनाका स्टार खेलाडी माथि टोटेनह्यामको नजर रहेको दावी स्पेनिस मिडिया मुन्डो डेस्पोर्टिभोले गरेको हो।
डेस्पोर्टिभोले गरिरहेको दावीलाई मान्ने हो भने बार्सिलोनाका फ्रेन्च विङ्गर ओस्मान डेम्बेलेलाई टोटेनह्यामले भित्र्याउन चाहेको छ। टोटेनह्यामले डेम्बेलेलाई जनवरी ट्रान्सफर विन्डो भन्दा पनि समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको डेस्पोर्टिभोले जनाएको छ।
डेम्बेले सन् २०१७ मा बार्सिलोना आएका थिए। त्यसबेला बार्सिलोनाले डेम्बेलेका लागि उच्च रकम खर्च गरेको थियो। साथै बार्सिलोनाले डेम्बेलेको रिलिज क्लज ४ सय मिलियन युरो राखेको थियो। तर यसै वर्ष उनले बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन्।
बार्सिलोना र डेम्बेले बीच भएको सम्झौता अनुसार उनी सन् २०२४ सम्म रहनेछन्। यसै बीच डेम्बेले र बार्सिलोना बीचको सम्झौतामा विशेष क्लज रहेको चर्चा सुरु भएको छ। सम्झौतामा १ सय मिलियन युरोको रिलिज क्लज रहेको र त्यसैको आधारमा डेम्बेलेलाई टोटेनह्यामले भित्र्याउन चाहेको डेस्पोर्टिभोले जनाएको छ।
यो रिलिज क्लज बारे बार्सिलोनाले त केहि पनि बोलेको छैन। तर बार्सिलोना र डेम्बेले बीच भएको सम्झौतामा यो विशेष क्लज रहेको स्पेनिस मिडियाहरुले दावी गरिरहेका छन्। यदि सो रिलिज क्लज वास्तवमै रहेको खण्डमा धेरै क्लब डेम्बेलेलाई फकाउने प्रयासमा हुन सक्छन्।