अधुरै रह्यो मोड्रिचको विश्वकप जित्ने सपना, विश्वकपमा मोड्रिच युग समाप्त !

काठमाडौँ – सदावहारको दाबेदार ब्राजिलको चुनौती पार गर्दै अगाडि बढेको क्रोएसिया लगातार दोस्रो पटक सेमिफाइनल प्रवेश गरे पनि मंगलबार अर्जेन्टिनाको चुनौती पार गर्न असफल भयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

गोल्डेन जेनेरेसनको रूपमा हेरिएको क्रोएसियाले अघिल्लो संस्करणमा फाइनल प्रवेश गरेर धेरैको मन जिते पनि उपाधिबाट भने फ्रान्ससँग स्तब्ध हुन पुगेको थियो। मंगलबार लुसेल रंगशालामा अर्जेन्टिनालाई नतिजा सुम्पिएसँगै क्रोएसिया पुनः उपाधिनजिक नजिक पुगेर खुम्चिनुपर्दा अनुभवी मिडफिल्डर लुका मोड्रिचको विश्वकप युग लगभग समाप्त भएको छ।

क्रोएसियाका प्लेमेकर तथा कप्तानको जारी विश्वकप अन्तिम विश्वकप अनुमान गरिएको छ। उमेरले झन्डै चार दशक पुग्न लागेका मोड्रिचको विश्वकप उपाधि उचाल्ने लक्ष्य अधुरै रह्यो। गोल्डेन जेनेरेसन मानिएको क्रोएसिया अन्तिम चारबाटै घर फर्किन बाध्य बन्यो। अघिल्ला खेलमा मिडफिल्ड सम्हाल्दै निर्धारित समय खेल्ने गरेका मोड्रिच मंगलबार भने निर्धारित समय खेलेनन्। वैकल्पिक खेलाडी प्रवेश गरेसँगै बाहिरिएका उनलाई रंगशालामा उपस्थित दर्शकले उच्च सम्मान दिए। उनको त्यो सम्मान फुटबलको एक महान् हस्तीलाई दिइएको सम्मानजत्तिकै थियो।

अब क्रोएसिया तेस्रो स्थानका लागि खेल्नेछ। उक्त खेल नै लुका मोड्रिचका विश्वकप बिट मार्नेै अन्तिम खेलका रूपमा कतिपयले अनुमान गरेका छन्। २००६ देखि विश्वकपमा क्रोएसियाको प्रनिधित्व गर्दै आएका मोड्रिचले विश्वकपका कुल १८ खेल खेले। २०१८ मा गरेका दुई गोल नै लुकाको व्यक्तिगत स्कोर हो। स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका मोड्रिच क्लबमा २०१२ देखि अनुबन्धित छन्। ३ सय ७ खेल खेल्दा २५ गोल उनको नाममा रहेको छ भने राष्ट्रिय टोलीका लागि उनले १ सय ६१ खेल खेल्दा २३ गोल पूरा गरेका छन्।

चार वर्षपहिले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गरेको क्रोएसियाले समूहचरणको पहिलो खेलमा अन्डरडग मोरक्कोसँग गोलरहित बराबरी खेल्दा धेरैले अगाडि नबढ्ने आकलन गरेका थिए। तर अन्डरडग मानिएको मोरक्कोको प्रदर्शनले सबैलाई चकित पारेको छ। खेलअनुसार मोरक्कोले उत्कृष्ट लयलाई निरन्तरता दिँदा पहिलो पटक अफ्रिकन राष्ट्र विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। परिपक्व खेल देखाउन सक्ने क्रोएसियाको खुबी हो। जापान र ब्राजिलसँगको खेलमा पुनरागमन गर्दै खेलमा फर्किनु र पेनाल्टीबाट अन्तिम १६ मा क्रोएसियाको संघर्षको पाटो रह्यो। अन्तिम चारमा पराजित हुनुलाई कतिपयले भाग्यको खेल भन्दै विश्लेषण गरेका छन्। बेल्जियमविरुद्धको खेल्दा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका रोमेलु लुकाकुले धेरै मौका गुमाउँदा क्रोएसियाको भाग्य चम्किएको थियो।

‘विश्वकपमा टोलीले ठूलो अनुभव बटुल्यो। अहिलेको पुस्ता क्रोएसियाको गोल्डेन जेनेरेसन हो,’ पराजयपश्चात् ज्लाट्को डालिचले भने, ‘केही खेलाडीको उमेर ढल्किए पनि विश्वकप २०२६ मा उनको सहभागिता सम्भव हुन सक्छ। तर मेरो विचारमा युरो २०२४ पछि उनीहरूले राष्ट्रिय फुटबलमा बिट मार्न सक्छन्।’

प्रकाशित : , ०, ०१०:२७

स्टेडियमबाहिर थिए हजारौं समर्थक, आवाजैले थाहा पाए मेस्सीको गोल !