मेसीलाई म्याराडोना बन्ने मौका !

काठमाडौँ – विश्वस्तरीय फुटबलर लियोनल मेसीले अर्जेन्टिनालाई कतार विश्वकपको फाइनलमा पुर्‍याएपछि आफ्नै देशका महान् फुटबलर डिएगो म्याराडोनाको अनुकरण र विश्वकप उपाधिसँग भाग्यको मेल गराउने अवसर पाएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने क्रोएसियाको लक्ष्यलाई ३–० ले पन्छाउँदै अर्जेन्टिनाले बुधबार कतार विश्वकपको उपाधि भिडन्त तय गरेको छ। म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाएको पनि ३६ वर्ष पूरा भइसकेछ। म्याराडोनाले त्यो सफलता मेक्सिकोमा प्राप्त गरेका थिए।

तर, त्यसयता अर्जेन्टिनाले विश्वकप उपाधि थप्न सकेको छैन। करियरको अन्त्यमा रहेका मेसीले उपाधिबाहेक सबैखाले सफलता पाइसकेका छन्। तर, उनमा विश्वकप उपाधिको भोक छ। ३५ वर्षका मेसीका लागि यो विश्वकप अन्तिम हुने उनले प्रस्ट पारिसकेका छन्।

तथापि, सन् २०१४ मा नै उनलाई विश्वकप उपाधि उचाल्ने अवसर थियो। ब्राजिलमा भएको त्यो विश्वकपमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध भएसँगै मेसीको सपना पूरा हुन सकेन। यो विश्वकपअगाडि नै उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने क्रममा कतारलाई यादगार बनाउने संकेत गरेका थिए। तर, सुरुआत राम्रो हुन सकेन र अर्जेन्टिना पहिलो खेलमा नै एसियन प्रतिद्वन्द्वी साउदी अरेबियासँग स्तब्ध हुन पुग्यो। अर्जेन्टिनाले धेरै सुधार ग¥यो। त्यसमा प्रमुख सारथि थिए, मेसी। उनले एक खेलाडीका रूपमा धेरै मिहिनेत गरे।

विश्वकपमा डेब्यु गरेको १६ वर्षपछि पहिलो पटक उनी विश्वकपको नकआउट चरणमा गोल गर्न सफल भए। मेसीले लगातार तीन खेलमा गोल गरिसकेका छन्। त्यसको साक्षी बन्यो, कतार। बुधबार विश्वकपमा उनको गोलसंख्या ११ पुगेको छ। जहाँ उनी गाब्रियल बाटिस्टुटालाई पछि पार्दै अर्जेन्टिनाका लागि विश्वकपमा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

विश्वकपको २५ खेलमा ११ गोल पूरा गर्दै उनले जर्मन स्टार लोथर माथ्युसको रेकर्ड बराबरी गरे। करियरको अन्त्यमा रहेका मेसीको लुसेल स्टेडियममा क्रोएसियाविरुद्ध खास विशेष देखियो, जहाँ उनले ऊर्जा बचाएका थिए।

कप्तानसमेत रहेका मेसी आफ्ना खेलाडीलाई प्रोत्साहित गर्ने र उनीहरूलाई आफ्नो जादुमयी तवरले बल उपलब्ध गराउनमा व्यस्त देखिए। यसअघि दुई चरणको खेलका नायक क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच पनि मेसीविरुद्ध निरीह भए। अर्जेन्टिनाले पहिलो हाफमा नै पेनाल्टी पाएको थियो।

जहाँ मेसीले लिभाकोभिचलाई गोल गर्ने कुनै अवसर नै दिएनन्। त्यसपछि उनले हुलियन अल्भारेजको गोलमा उत्कृष्ट बल उपलब्ध गराएका थिए। त्यो गोलपछि पहिलो हाफमा नै अर्जेन्टिनाले २–० को अग्रता बनायो।

दोस्रो हाफमा पनि उनको प्रदर्शन यादगार नै रह्यो। मेसीले क्रोएसियाका जोस्को भार्डियोललाई छक्याउँदै अल्भारेजका लागि फेरि बल उपलब्ध गराउन सफल भए। ‘पछिल्लो १५ वर्षयता उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। आज फेरि उनी उत्कृष्ट साबित भए,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मेसीबारे भने।

प्रकाशित : , ०, ०१०:१७

अधुरै रह्यो मोड्रिचको विश्वकप जित्ने सपना, विश्वकपमा मोड्रिच युग समाप्त !