फ्रान्ससँग हारेपछि आयो म्यागुइरको भविष्यवाणी, यो देशले विश्वकप जित्ने दावी !

एजेन्सी – इङ्ल्यान्डका डिफेन्डर ह्यारी म्यागुइरले कतार विश्वकप फ्रान्सले जित्ने दावी गरेका छन्। विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि विश्वकप फ्रान्सले नै जित्ने दावी गरेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा म्यागुइरले धेरै कुराहरुमा फ्रान्स भन्दा आफूहरुले राम्रो खेलेको बताए। त्यसो भनिरहँदा उनले यसपटकको विश्वकप फ्रान्सले नै जित्ने बताउन भने छुटाएनन्।

“मेरा लागि उनीहरु विश्व च्याम्पियन हुन्। मलाई लाग्छ कि उनीहरूले विश्वकप जित्नेछन्। तर पूर्ण रूपमा इमानदार भएर भन्नु पर्दा हामी धेरै क्षेत्रमा उनीहरूभन्दा धेरै राम्रो थियौं।”,म्यागुइरले भने।

फ्रान्सको टोली धेरै राम्रो र अनुभवी देखिएको पनि उनले बताए। अनुभवीका साथ-साथै फ्रान्सको टोली क्लिनिकल देखिएको म्यागुइरको भनाई छ। उनले भने,”उनीहरु त्यसै विश्वकप च्याम्पियन भएका होइनन्। उनीहरु क्लिनिकल छन्, अनुभवी छन् र निर्दयी भएर खेल्छन्।”

गए राति इंग्ल्यान्डले विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्सको सामना गर्यो। खेलभर बलमा बढी नियन्त्रणमा राखेर पनि गोलका अवसरहरुलाई राम्रोसँग सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अगाडी बढ्न सकेन।

खेलभर इंग्ल्यान्डले बलमा ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इंग्ल्यान्डले कुल १६ प्रहार गरेको थियो। जस मध्ये ८ प्रहार टार्गेटमा थिए। त्यस्तै फ्रान्सले भने मात्रै ८ प्रहार गरेको थियो। त्यसमा ५ प्रहार टार्गेटमा थिए।

फ्रान्स विरुद्ध इंग्ल्यान्डले राम्रो फिनिसिङ नै गर्न सकेन। खेलमा इंग्ल्यान्डले दुई पेनाल्टीको अवसर पाएको थियो। त्यसमध्ये एकमा सफल भएपनि अर्को पेनाल्टीमा भने असफल हुन पुग्यो। खेलको १७ औं मिनेटमा पछि परेपनि ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्किएको थियो। ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खलको ७८ औं मिनेटमा ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई जित तर्फ अगाडी बढाएका थिए। तर सदुपयोग ८४ औं मिनेटमा बराबरी गर्ने अवसर पेनाल्टीको रुपमा पायो। थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए। दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके। उनको प्रहार क्रसबारबाट माथि गएको थियो।

प्रकाशित : , ०, ०२०:४५

भावुक हुँदै रोनाल्डोले भने – ‘करियरकै ठूलो सपना साकार पार्न असफल भएँ’