दोहा, कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाले। नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा नेमारले गोल पनि गरे। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
सर्बियाविरुद्धको पहिलो खेलमा नेमारलाई गोलीगाँठोमा चोट लागेको थियो। त्यसपछि ब्राजिलले स्विजरल्यान्डलाई बल्लतल्ल १–० ले हरायो भने क्यामरुनसँग १–० ले स्तब्ध भएको थियो। पछिल्ला दुई खेलमा नेमारबिना ब्राजिल सङ्घर्षरत र प्रभावहीन देखिएको थियो। तर नेमारको पुनरागमनसँगै ब्राजिल पुनः फरक टिमको रूपमा प्रस्तुत भएको छ। पूर्वाद्र्धमा नेमारले पेनाल्टीमा गोल गरी राष्ट्रिय टिमका लागि आफ्नो गोलसङ्ख्या ७६ पु-याएका छन् । अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेभन्दा नेमार एक गोलले मात्र पछाडि छन्।
नेमारले जितपछि सर्बियाविरुद्ध घाइते भएपछि विश्वकपमा खेल्न नपाउने डरले हरेक रात आफूले रोएर बिताएको जानकारी दिए। मेरो परिवारलाई थाहा छ, मैले यो समय कसरी कटाएँ। तर अन्त्यमा अहिले सबै ठीक भएको छ– उनले भने । नेमारले आफू चाँडै निको हुनुको श्रेय फिजियोथेरापीलाई दिएका छन्।
नेमार र ब्राजिलियाली टिमका लागि दक्षिण कोरियासँगको खेल भावनात्मक पनि रह्यो। क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान् फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बनेको हो। यद्यपि ८२ वर्षीय पेलेले सो खेल अस्पतालबाट हेर्ने भनी आफ्नो टिमको मनोबल उच्च पारेका थिए । नेमारले खेलपछि पेले लेखिएको ब्यानरसहित जितको खुसियाली मनाए। त्यसपछि ब्राजिलियाली टिमले मैदानको बीच भागमा सोही ब्यानरसहित सामूहिक तस्बिर लिएको थियो।
नेमारले आफ्नो पुनरागमन खेलको १३औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्। यस विश्वकपमा नेमारको यो पहिलो गोल भएको छ। सो गोलसँगै पेले र रोनाल्डोपछि नेमार ब्राजिललाई तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बने। यसअघि खेलको सातौँ मिनेटमा नै राफिनाको पासमा भिनिसियस जुनियरले गोल गरी ब्राजिललाई अगाडि राखेका थिए । खेलको २९औँ मिनेटमा रिचर्लिसनले तेस्रो तथा पूर्वाद्र्धमै भिन्सियसको पासमा लुकास पाक्वेटालो चौथो गोल गरे। खेलको ७६औँ मिनेटका दक्षिण कोरियाका पाइक सिउङ होले लामो दूरीबाट बल गोलपोस्टमा छिराएर सान्त्वना गोल गरे।
दक्षिण कोरियाको भने सन् २००२ पछि पहिलो पटक क्वाटरफाइलनमा पुग्ने अभियान सफल हुन सकेन। दक्षिण कोरियाको हारसँगै कतार विश्वकपमा एसियाको चुनौती पनि समाप्त भएको छ। यसअघि आयोजक कतार, इरान र सउदी अरबको चुनौती समूह चरणमै सकिएको थियो भने दक्षिण कोरियासरह जापान र अस्ट्रेलिया प्रिक्वाटरफाइनलबाट बाहिरिएका थिए।