एजेन्सी – नेदरल्यान्ड्सका स्टार भर्जिल भान डाइकले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी विरुद्ध खेल्न पाउनु गर्वको कुरा रहेको बताएका छन्। विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनाको सामना गर्नु अगाडी भान डाइकले मेस्सी विरुद्ध खेल्न पाउनु सम्मान र गर्वको कुरा रहेको बताएका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा उनले मेस्सी फुटबल इतिहाँसकै उत्कृष्ट मध्येमा पर्ने बताउन पनि छुटाएनन्। यधपी क्वाटरफाइनलको खेल एक्लो मेस्सी भन्दा पनि अर्जेन्टिना विरुद्ध हुने बताए।
“मेस्सी फुटबल इतिहाँसकै उत्कृष्ट मध्ये एक रहेका छन्। उनी विरुद्ध खेल्न पाउनु सम्मानको कुरा हो। तर हामी एक्लो मेस्सी विरुद्ध खेल्दै छैनौँ, हामी अर्जेन्टिना विरुद्ध खेल्दै छौँ। उनीहरूसँग विश्वस्तरका धेरै खेलाडीहरू छन्।”,भान डाइकले भने।
मेस्सी र भान डाइक अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आमने-सामने हुन लागेका हुन्। क्लब स्तरीय रुपमा यस अगाडी आमने-सामने भएपनि राष्ट्रिय टोलीबाट भने यी दुई आमने-आमने पहिला भएका थिएनन्।
मेस्सी र भान डाइक सन् २०१८-१९ को च्याम्पियन्स लिग सेमिफाइनलमा आमने-सामने भएका थिए। त्यसबेला मेस्सी बार्सिलोनामा थिए। पहिलो लेगमा मेस्सीले लिभरपुल विरुद्ध २ गोल गरेका थिए भने बार्सिलोना ३-० ले विजयी भएको थियो। तर दोस्रो लेगमा भने बार्सिलोना ४-० को गोल अन्तरले पराजित भएको थियो।