मेस्सी, रोनाल्डो पछि अब चम्किने पालो रोनाल्डोको !

दोहा, कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएको छैन। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

हुन त रोनाल्डो पहिलो खेलमा घानाविरुद्ध गोल गरेर पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको थियो। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। उहाँको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ तर रोनाल्डो त्यसपछि दुई खेलमा शान्त नै देखिनुभयो।

रोनाल्डोका समर्थकहरू उहाँले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणका लागि बचाएर राख्नुभएको विश्वास गर्छन्। पोर्चुगलले मङ्गलबार अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध खेल्दा रोनाल्डोसमक्ष समर्थकको अपेक्षामा खरो उत्रने चुनौती तथा अवसर हुनेछ।

यद्यपि रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सक्नुभएको छैन। जुन रोनाल्डोको चम्किलो फुटबल जीवनमा दागका रूपमा रहेको छ। त्यसैले पनि रोनाल्डोमा मङ्गलबार सबैको नजर रहनेछ।

यद्यपि यस पटक स्विट्जरल्यान्डको टिम कमजोर छैन। यही टिमले गत वर्ष युरो च्याम्पियनसिपको अन्तिम १६ मा विश्व विजेता फ्रान्सलाई हराएको थियो। युरोपेली फुटबलमा स्विट्जरल्यान्डलाई सधैँ राम्रो प्रदर्शन गर्ने टिमका रूपमा लिइन्छ। सन् १९५४ पछि स्विट्जरल्यान्डले अहिलेसम्म प्रिक्वाटरफाइनल पार गरेको इतिहास भने छैन। त्यसैले पोर्चुगललाई हराएमा स्विट्जरल्यान्डले कीर्तिमान बनाउनेछ।

सुरुका दुई खेल जितेपछि पोर्चुगल एसियाली राष्ट्र दक्षिण कोरियासँग हारेको थियो। सो हारले पनि पोर्चुगललाई झस्काएको छ। यद्यपि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले दक्षिण कोरियाविरुद्ध बु्रनो फर्नान्डेज, बर्नार्डो सिल्भा र रुवेन डियास जस्ता खेलाडीलाई विश्राम दिनुभएको थियो।

प्रशिक्षक सान्तोषसमक्ष स्विट्जरल्यान्डविरुद्ध लेफ्ट ब्याकमा राफेल ग्वेरेरो र जोआओ क्यासेलोमध्ये कसलाई खेलाउने दुविधा पनि छ। सन् २००६ मा सेमिफाइनल पुगेपछि पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सकेको छैन।

प्रकाशित : , ०, ०११:२७

भान डाइक भन्छन् – ‘मेस्सी विरुद्ध खेल्न पाउनु सम्मानको कुरा हो’