सुबास हुमागाईं, उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेसँगै ब्राजिल विश्वकपको एकै संस्करणमा २६ खेलाडी खेलाउने पहिलो राष्ट्र बनेको हो ।
प्रशिक्षक टिटेले खेलको ८० औं मिनेटमा एलिसन बेकरको स्थानमा ३४ वर्षीय वेभर्टनलाई मैदान प्रवेश गराएका थिए । विश्वकपमा पहिलो खेल खेल्ने अवसर पाएका वेभर्टन ब्राजिलको पाल्मेरासबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीका लागि भने यसअघि ९ पटक खेलिसकेका थिए ।
टिटेले वेभर्टनलाई मैदान प्रवेश गराएसँगै ब्राजिल २६ खेलाडी उतार्ने पहिलो टोली बनेको हो । कतार विश्वकपमा पहिलो पटक २६ खेलाडीको टोली बनेको हो । यसअघिका विश्वकपमा हरेक टोलीमा अधिकतम २३ खेलाडी रहने गर्दथे । ब्राजिलले यस संस्करणमा सबै खेलाडीलाई अवसर दिँदै यो दुर्लभ कीर्तिमान हासिल गरेको हो ।
ब्राजिलले समूह चरणको अन्तिम खेलमा दोस्रो रोजाइको टोली उतार्दै सबै खेलाडीलाई अवसर दिने रणनीति लिएको थियो । यसो गर्दा आफ्नो मुख्य खेलाडीले विश्राम पाउने प्रशिक्षकले बताएका थिए ।
त्यसको फलस्वरूप ब्राजिलले दक्षिण कोरियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । हालसम्म ब्राजिलले विश्वकपमा ४ खेल खेल्दा डिफेन्डर मार्किन्हस, विंगर राफिन्हा र रोड्रीगोले मात्र सबै खेलमा खेलेका छन् ।