ब्राजिललाई ठूलो राहत, घाइते नेयमार प्रशिक्षणमा फर्किए !

एजेन्सी – छैटौं पटक विश्वकप जित्ने योजनामा रहेको ब्राजिललाई अन्ततः राहत मिलेको छ। एक पछि अर्को खेलाडी घाइते हुन थालेपछि समस्यामा परेको ब्राजिललाई स्टार फरवार्ड नेयमार प्रशिक्षणमा सहभागी भएसँगै राहत मिलेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार नेयमार ब्राजिलको पछिल्लो प्रशिक्षणमा सहभागी भएका छन्। नेयमार आफैंले पनि सामाजिक संजाल मार्फत आफू खेलमा फर्किने संकेत गरेका छन्। केहि तस्विरहरु समेत सार्वजनिक गर्दै नेयमारले आफू अहिले राम्रो महसुस गरिरहेको उल्लेख गरेका छन्।

तस्विरहरुमा नेयमार प्रशिक्षणमा सहभागी भइरहेको देखिएको छ। तस्विरहरु सहित नेयमारले लेखेका छन्,”मलाई राम्रो लागिरहेको छ। मलाई थाहा थियो अब यो हुन्छ भन्ने।”

नेयमार विश्वकपको पहिलो खेलमै घाइते भएका हुन्। सर्बियासँगको खेलका क्रममा नेयमारको खुट्टामा चोट लागेको थियो। सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंककलमा चोट बोकेपछि नेयमारलाई ८० औं मिनेटमा परिवर्तन गरिएको थियो। सो ट्याकलका कारण नेयमारको खुट्टा सुन्निएको थियो।

त्यसबेला देखि नै आराम गरिरहेका उनी पछिल्लो समय निको हुँदै गएका छन्। नेयमार अन्तिम १६ को दक्षिण कोरिया विरुद्धको खेलका लागि फिर्ता हुने प्रयास गरिरहेका छन्।

यसैबीच शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका छन्। दुवै खेलाडीले शुक्रबार खेल दौरान घुँडामा चोट बोकेका थिए। ब्राजिलले एक विज्ञप्तिमार्फत दुवै खेलाडी विश्वकपका बाँकी खेलका लागि उपलब्ध नहुने जानकारी दिएको छ।

प्रकाशित : , ०, ००८:५३

रोनाल्डोलाई मेस्सीले उछिने !