छैटौं पटक विश्वकप जित्ने ब्राजिलको लक्ष्यमा ठूलो धक्का, दुई खेलाडी विश्वकपबाट आउट !

कतार  – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ ।

शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । दुवै खेलाडीले शुक्रबार खेल दौरान घुँडामा चोट बोकेका थिए । ब्राजिलले एक विज्ञप्तिमार्फत दुवै खेलाडी विश्वकपका बाँकी खेलका लागि उपलब्ध नहुने जानकारी दिएको छ ।

‘शनिबार विहान गरिएको परिक्षणको नतिजा अनुसार एलेक्स टेलेस र ग्याब्रीएल जेससले फिफा विश्वकपको बाँकी खेलका लागि ठिक नहुने भएका छन्,’ ब्राजिल फुटबल महासंघले जनाएको छ ।

ब्राजिलले सोमबार हुने अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गदैछ । ब्राजिलका पहिलो रोजाइका विंगब्याक ड्यानिलो र एलेक्स सान्ड्रो दुवै चोटका कारण विश्राममा छन् । टेलेसको चोटसँगै अब ब्राजिलले सेन्टर ब्याक खेल्ने खेलाडीलाई विंगब्याकमा उतार्नुपर्ने देखिएको छ ।

ब्राजिलका लागि क्यामरुनविरुद्ध ड्यानी आल्भेसले कप्तानी गर्दै राइट ब्याक खेलेका थिए । त्यस्तै टिटेले मार्किन्हसलाई विंगब्याकमा खेलाएर थियागो सिल्भा र इडर मिलिसाओ बिचमा खेलाउन पनि सक्छन् । फाबिन्होले पनि यसअघि सेन्टर डिफेन्समा खेलेका छन् ।

२६ सदस्यीय टोलीमा रहेका तीन विंगब्याक घाइते हुँदा ब्राजिल समस्यामा परेको हो । आक्रमणमा भने दोस्रो रोजाइका फरवार्ड ग्याब्रीएल जेससको स्थान लिन पर्याप्त खेलाडी ब्राजिलको टोलीमा छन् । स्टार खेलाडी नेयमार पनि कोरियाविरुद्ध पुनरागमन गर्ने प्रयासमा छन् ।

प्रकाशित : , ०, ०१९:२१

अमेरिका र डच टोली दुईको सुरुवाती ११ सार्वजनिक ! टोलीमा को-को परे ?