फ्रान्सको नजर पेनाल्टीमा !

कतार – फ्रान्सका कप्तान ह्युगो लोरिसले फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ मा पोल्यान्डविरुद्ध खेल अघि पेनाल्टीका लागि पनि टोली तयार रहनुपर्ने बताएका छन् । खेलको पूर्वसन्ध्यामा अन्तिम १६ को खेलबारे बोल्दै लोरिसले पोल्यान्डविरुद्ध खेल लेवान्डोस्कीका कारण पनि थप कठिन हुने बताए ।

‘लवान्डोस्की विश्वको उत्कृष्ट फरवार्डमा पर्छन् । उनी पोल्यान्डका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उपस्थितिले थप बलियो बनेको टिम आफैंमा राम्रो छ । रक्षात्मक रुपमा पनि र गोलरक्षक सेचेज्नी पनि उच्च लयमा छन् । पोल्यान्ड प्रतियोगिताको नकआउट चरणमा आउन योग्य थियो र सफल पनि भयो,’ उनले भने ।

यसअघि युरो २०२० मा फ्रान्सले स्विटजरल्यान्डसँग अप्रत्याशित हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलबारे सम्झंदै लोरिसले भने, ‘युरोमा स्विट्जरल्यान्ड विरुद्ध बेहोरेको हारबारे हामीले समिक्षा गरेका छौं । खेलमा पूरा समय ध्यान दिनुपर्छ भन्ने जानेका छौं । यस्तो खेलमा हामी हरपल तयार रहनुपर्छ । विपक्षीको प्रतिक्षा गरेर होइन, हामी आफैं एक कदम अघि हुनुपर्छ । अवसर पाउँदा सदुपयोग गर्नुपर्छ । मानसिक रुपमा हरेक अवस्था सामना गर्न तयार रहनुपर्छ ।’

लोरिसले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक चलिरहेका कारण पेनाल्टीका लागि पनि टोली तयार रहेको उनले बताए । ‘पेनाल्टीबारे पनि नजर राखेको छौं । पुराना खेल हेरेर आफू तयारी गर्न सकिन्छ । तर यसले खासै फरक पर्दैन, किनभने खेलमा आफ्नो भित्री निर्णयमा भर पर्ने हो । सधैं खेलाडीले एकै ठाउँमा प्रहार वा गोलरक्षकले डाइभ दिने भन्ने हुँदैन । तर आफ्नो तर्फबाट भने तयार हुनुपर्छ,’ उनले भने । फ्रान्स र पोल्यान्डबीच खेल आइतबार नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । यस खेलको विजेताले इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रकाशित : , ०, ०१७:२१

साउदीले जस्तै अर्जेन्टिनालाई झड्का दिने अष्ट्रेलियाको योजना !