विश्वकपको प्रिक्वाटरफाइनलका दुई खेल तय ! को-को भिड्ने भए ?

कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणमा दुई खेलको प्रतिद्वन्द्वी तय भएको छ । समूह ए र बी को खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पनि प्रष्ट बन्न थालेको हो ।

मंगलबार समूह ए मा नेदरल्यान्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै समूह बी बाट पनि इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा स्थान बनाउन सफल रहे ।

नेदरल्यान्ड्सले कतारलाई २-० ले हराउँदै समूह विजेता बन्यो । डच टोली ३ खेलमा ७ अंक जोड्दै अपराजित रह्यो । त्यस्तै सेनेगलले इक्वेडरमाथि २-१ को जित हासिल गर्दै उपविजेता बन्यो । सेनेगल ६ अंकका साथ अघि बढ्दा इक्वेडर ४ अंक जोड्दै तेस्रो र कतार विना अंक पुछारमा रह्यो ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । ‌‌‌‌‌‌अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले हरायो ‌। अमेरिका इरानलाई हराउँदै अपराजित रहेरै नकआउट चरणमा पुग्यो । ३ खेलमा अमेरिकाले ५ अंक जोड्दा इरान ३ अंक र वेल्स १ अंकमा सिमित रहे । अब अन्तिम १६ चरणमा नेदरल्यान्ड्सले अमेरिकाको सामना गर्नेछ । त्यस्तै इंग्ल्यान्डले क्वाटरफाइनल पुग्न सेनेगललाई हराउनु पर्नेछ ।

प्रकाशित : , ०, ००६:५२

अर्जेन्टिनालाई विश्वकपबाट बाहिरिने डर !