विश्वकपमा सुन्दर फुटबल खेल्दै स्पेन, गोल र पासमा सबै भन्दा अगाडी !

कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो चरणको खेल समाप्त भएको छ । हालसम्म ८ समूहबाट तीन टोलीले अर्को चरणमा स्थान पक्का गर्दा दुई टोली मात्र प्रतियोगिताबाट बाहिरिएका छन् । २७ राष्ट्र अझैपनि नकआउट चरणको १३ स्थानका लागि प्रतिस्पर्धामा छन् ।

प्रतियोगितामा समूह चरणको दुवै खेलमा जित हासिल गर्ने तीन टोली मात्र छन् । फ्रान्स, ब्राजिल र पोर्चुगलले ६-६ अंक जोडेका छन् । कतार र क्यानडाले मात्र प्रतियोगितामा अंकको खाता खोलेका छैनन् । प्रतियोगितामा उरुग्वे, मेक्सिको र ट्युनिसियाले हालसम्म गोल गरेका छैनन् । तर तीनै टोलीले गोलरहित बराबरी खेल्दै १-१ अंक भने जोडेका छन् ।

दोस्रो चरणको समाप्तिसम्म कुल ३२ खेलमा ३० हजार ९ सय ९४ पासमा २६ हजार ४ सय १४ पास सफल भएका छन् । स्पेन एक्लैले २ खेलमा १ हजार ७ सय ८ पासमा १ हजार ५ सय ६८ पास पूरा गरेको छ । प्रतियोगितामा १ हजार १ सय ६० क्रस हुँदा दक्षिण कोरियाले २ खेलमा ६५ क्रस गरेको छ ।

यस्तै प्रतियोगिताको १६ खेलमा ८१ गोल सम्भव भएको छ । प्रति खेल २.५ औसत गोल निस्किएको छ । स्पेनले २ खेलमा सर्वाधिक ८ गोल गरेको छ । गोलका लागि प्रयास गर्नेमा भने फ्रान्सले ४३ पटक आक्रमण प्रयास गरेको छ । प्रतियोगितामा कुल ६ सय ७२ पटक पोस्टमा आक्रमण भएको छ ।

समूह चरणको दोस्रो खेल सकिँदा कुल ७ सय ७४ फल भएको छ । जापानले सर्वाधिक ४६ फल गरेको छ । पहेंलो कार्ड प्राप्त गर्नेमा भने साउदी अरेबिया अघि छ । कुल १ सय ११ मध्य साउदीले ८ पटक पहेंलो कार्ड पाएको छ । वेल्सका गोलरक्षक वायन हेनेसी एकमात्र रेड कार्ड खाने खेलाडी हुन् । अर्जेन्टिनाका खेलाडी १२ पटक अफसाइड रहँदा कुल संख्या १ सय १९ छ ।

हालसम्म ११ पेनाल्टी हुँदा पोर्चुगलले दुई पटक पाएको छ । पहिलो खेलमा क्रिस्टियानो रोनाल्डो र दोस्रोमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए । अर्जेन्टिनाले सर्वाधिक ४५ फ्रिकिक प्राप्त गर्दा कुल संख्या भने ८ सय ८१ छ । कुल ३ सय कर्नरमध्य डेनमार्कले सर्वाधिक १५ कर्नर पाएको छ ।

प्रकाशित : , ०, ०२०:५८

अमेरिका विश्वकपको नकआउट चरणमा !