कतार – फिफा विश्वकप कतार २०२२ मा प्रतियोगिताको नियम नमान्दा चार पटकको विजेता जर्मनीले जरिवाना तिर्नुपर्ने भएको छ । जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा प्रशिक्षकलाई मात्र उपस्थित गराएपछि फिफाले जरिवानासहित चेतावनी दिएको हो । फिफाले जर्मनी फुटबल संघलाई १० हजार स्विस फ्रान्क (१३ लाख ७५ हजार नेपाली रुपैयाँ) जरिवाना निर्णय गरेको हो ।
फिफा विश्वकपको मिडिया र मार्केटिङ नियमावलीको दफा २.७.२ अनुसार हरेक टोलीले खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै खेलाडी पठाउनुपर्ने उल्लेख छ । तर जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन प्रशिक्षक हान्सी फ्लिकलाई मात्र पत्रकार सम्मेलनमा पठाएको थियो । खेलाडी नपठाएपछि फिफाले चेतावनी दिँदै जरिवाना गरेको हो ।
विश्वकपमा हरेक खेलको अघिल्लो दिन सहभागी टोलीका खेलाडी र प्रशिक्षकले पत्रकार सम्मेलनमा अनिवार्य उपस्थिति जनाउनुपर्ने हुन्छ । यसबाहेक खेलको समाप्तिसँगै प्रशिक्षक र प्लेयर अफ द म्याचले पनि मिडियासँग बोल्छन् । यसबाहेक खेल सकिएपछि हरेक खेलाडी मिडियाका लागि छुट्टयाइएको क्षेत्र पार गर्नुपर्ने हुन्छ ।
जर्मन फुटबल संघ र फिफाबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । जर्मनीका कप्तान म्यानुएल नोएरलाई ‘वन लभ’ अंकित क्याप्टेन ब्यान्ड लगाउन नदिएसँगै जर्मनीले फिफासँग छलफल गर्ने बताएको थियो । यसकै विरोधमा जर्मनीका खेलाडीले जापानविरुद्ध खेलमा टिम फोटो लिँदा हातले मुख छोपेका थिए । तर फिफाले यसबारे कुनै कारवाही गरेन ।