घाना विरुद्ध विश्वकप इतिहास रचेका रोनाल्डो भन्छन्-“यसमा मलाई गर्व छ”

DOHA, QATAR - NOVEMBER 24: Cristiano Ronaldo of Portugal looks on, with team mate Bruno Fernandes pictured in the background during the FIFA World Cup Qatar 2022 Group H match between Portugal and Ghana at Stadium 974 on November 24, 2022 in Doha, Qatar. (Photo by Youssef Loulidi/Fantasista/Getty Images)

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई गर्व लागेको बताएका छन् ।

घानाविरुद्ध जितमा रोनाल्डो खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।

घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे । उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।

खेलपछि बोल्दै रोनाल्डोले आफ्नो लागि यो क्षण विशेष रहेको बताए । ‘यो विशेष क्षण हो । मेरो पाँचौ विश्वकप हो र पाँचौ विश्वकपमा गोल गर्दै इतिहास रच्न सकें । म निकै गर्व महसुस गरिरहेको छु । पहिलो खेलमा जित हासिल गर्नु महत्त्वपूर्ण थियो । हाम्रो टोलीले राम्रो खेल्यौं,’ रोनाल्डोले भने ।

रोनाल्डोले यसै साता मात्र म्यानचेस्टर युनाइटेडसँग आपसी समझदारीमा सम्झौता रद्द गरेका थिए । रोनाल्डोले युनाइटेडसँगको कुरा सकिएको र अब विश्वकपमा ध्यान दिने बताए ।

‘यो साता हामीले विश्वकपमा राम्रो सुरुवात गर्नु थियो । त्यसमा हामी सफल भएका छौं । बाँकी सबै कुरा सकिसकेको छ । अब हाम्रो ध्यान विश्वकपमा छ । आज राम्रो सुरुवात भयो र अब अघि पनि त्यसैलाई निरन्तरता दिनेछौं,’ उनले टुंग्याए । पोर्चुगलले अब समूह चरणको दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ ।

प्रकाशित : , ०, ०१२:१८

चोटले समस्या दिएपछि अर्जेन्टिनी टोलीसँग गरेनन् मेस्सीले प्रशिक्षण, कति गम्भीर छ समस्या !