मेस्सीले गोल्डेन बुट र अर्जेन्टिनाले विश्वकप जित्ने फिफाको भविष्यवाणी !

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ। इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो।

यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो। यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ। फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो।

यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो। स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो।

यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले हराएको देखिन्छ। अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई र ब्राजिलले पोर्चुगललाई हराएको छ। जर्मनी क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको छ।

फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नेछन्। सिमुलेसन गरिएको प्रतियोगितामा मेस्सीले ७ खेलमा ८ गोल गरेको देखिएको छ। यस्तै सिमुलेसन अनुसार टिम अफ द टुर्नामेन्टमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, मार्कस अकुना, लिआन्द्रो पारेडेस र रोड्रीगो डे पल छन्।

प्रकाशित : , ०, ०१२:०८

विश्वकपअघि रोनाल्डोको तारिफ गरेर थाकेनन् भिनीसियस, यसो भन्छन् !