१० खेलाडीमा सिमित भएरपनि सिटीले जित्यो, नायक बने हालान्ड !

एजेन्सी – खेलको अधिकांश समय १० खेलाडीमा सिमित हुनका बाबजुद म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई पराजित गरेको छ । घरेलु मैदानमा सिटीले २-१ को जित दर्ता गरेको हो ।

खेलमा सुरुवाती समयमै अग्रता लिएपनि पहिलो हाफको २६ औं मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो । उक्त फलकै कारण फुलहमले खेल बराबरी गरेको थियो । सिटीले १० खेलाडीमा सिमित हुनका बाबजुद दबाब बनाएपनि गोल गर्न कठिन भएको थियो । इन्ज्युरी समयमा सिटीले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेको थियो ।

सिटीले खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो । इल्काए गुन्डोगनको थ्रु पासलाई अल्भारेजले शक्तिशाली प्रहारमार्फत गोल गरे । त्यसको ९ मिनेटपछि सिटी १० खेलाडीमा सिमित भयो । क्यान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनमाथि फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिए ।

फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि सिटीले लगातार आक्रमण बुनेपनि फुलहमको डिफेन्स चिर्न सकेन । चोटबाट पुनरागमन गरेका फरवार्ड एर्लिङ हालान्डले ७४ औं मिनेटमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिँदा सिटी अघि बढ्न पाएन ।

इन्ज्युरी समयमा अन्तत: सिटीले खेल जित्ने सुवर्ण अवसर पायो । एन्टोनी रबिन्सनले केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई हालान्डले गोलमा परिणत गर्दै जित पक्का गरे ।

यस जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १३ खेलमा ३२ अंक जोडेको छ । आर्सनलको १२ खेलमा ३१ अंक छ । आर्सनलले आइतबार साँझ चेल्सीको सामना गर्दैछ ।

प्रकाशित : , ०, ००८:०१

पिकेक अन्तिम खेलमा जित्यो बार्सिलोना !