एजेन्सी – स्पेनिस मिडिया मार्काको दावीलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नजिक हुन खोजिरहेका छन्। ब्राजिलियन स्टार नेयमारसँगको सम्बन्ध बिग्रिएपछि एम्बाप्पेले मेस्सीको साथ खोजेको दावी मार्काले गरेको हो।
रिपोर्टका अनुसार एम्बाप्पे र नेयमार क्लबमा अब सौहार्दपूर्ण सम्बन्धमा छैनन्। जसकारण एम्बाप्पे मेस्सीसँग धेरै नै नजिक हुन चाहिरहेका छन्। एमबाप्पे सम्भव भएसम्म लियोनल मेस्सीसँग धेरै नजिक हुन चाहिरहेको बताइन्छ।
मेस्सी नेयमारसँग लामो समय देखि नजिक रहेका छन्। दुई बीच बार्सिलोना देखि नै नजिक छन्। दुवै खेलाडीले बार्सिलोना देखिको मित्रतालाई पिएसजीमा पनि कायम राखेका छन्। एम्बाप्पेले मेस्सी र नेयमारलाई छुट्याउन चाहेको बताइएको छ। यो खबर कति सत्य हो भन्ने बारे भने कुनै पनि पुष्टि भएको छैन।
एम्बाप्पेलाई मेस्सीसँग सहकार्य गर्दा के कति फाइदा हुन्छ भन्ने कुरा राम्रोसँग थाहा रहेको फ्रेन्च मिडियाहरु बताउँछन्। मेस्सी र एम्बाप्पे बीचको तालमेल अजाकियो विरुद्धको खेलमा देखिएको थियो।
दुई बीचको राम्रो तालमेलले पिएसजी विजयी भएको थियो। सो खेलमा एम्बाप्पेले दुई गोल गर्दै एक असिस्ट दिएका थिए। जाबकी मेस्सीले एक गोल र दुई असिस्ट दिएका थिए।