एजेन्सी – च्याम्पियन्स लिगमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले इजरायली क्लब मक्काबी हाइफाको सामना गर्दैछ। च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने संघारमा रहेको पिएसजीले आज राति घरेलु मैदानमा मक्काबी हाइफाको सामना गर्न लागेको हो।
पिएसजी अहिले च्याम्पियन्स लिगको समूह ‘एच’को शिर्ष स्थानमा रहेको छ। सन् २०२२-२३ सिजनका ४ खेल खेल्दा पिएसजीले च्याम्पियन्स लिगमा २ जित निकालेको छ भने २ बराबरी खेलेको छ। पिएसजीको आठ अंक रहेको छ। पिएसजीले युभेन्टस र हाइफा विरुद्धको एक-एक खेलमा जित निकाल्दा बेन्फिका विरुद्धको दुवै खेलमा बराबरी खेलेको छ। स्मरण रहोस् बेन्फिका समूहको दोस्रो स्थानमा छ भने बेन्फिकाको पनि समान आठ अंक छ।
त्यस्तै हाइफाको भने ३ अंक रहेको छ। हाइफा समूहको अन्तिम स्थानमा रहेको छ। च्याम्पियन्स लिगको जारी सिजनमा हाइफाले मात्र एक खेलमा जित निकालेको छ भने बाँकी ३ खेलमा हार बेहोरेको छ। हाइफाले एक मात्र जित युभेन्टस विरुद्धको खेलमा निकालेको थियो। यस भन्दा अगाडी पिएसजीको सामना गर्दा हाइफा ३-१ को गोल अन्तरले पराजित भएको थियो।
आज हुने खेलमा पिएसजी हाइफाको चुनौती पार गर्दै च्याम्पियन्स लिगमा छनौट हुने दाउमा हुनेछ। हाइफालाई पराजित गर्न सके पिएसजी च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ। तर हार वा बराबरी खेलेको खण्डमा भने पिएसजीले च्याम्पियन्स लिगको नकआउटमा पुग्न अन्तिम खेल सम्म कुर्नुपर्नेछ। हाइफा भने च्याम्पियन्स लिगबाट आउट हुने संघारमा छ।
पिएसजी र हाइफा बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यो खेल भारतीय च्यानल सोनी सिक्समा हेर्न सकिनेछ।