एजेन्सी – बेलायती पत्रकार एलेक्स क्रुकका अनुसार निकट भविष्यमा मौरिसियो पोचेटिनोले पुनः टोटेनहम हटस्परको जिम्मेवारी सम्हाल्न सक्छन्। टकस्पोर्ट रेडियोका प्रस्तोता समेत रहेका क्रुकले टकस्पोर्टकै एक कार्यक्रमका क्रममा निकट भविष्यमा पोचेटिनोले पुनः टोटेनहम फिर्ता हुन सक्ने सम्भावना रहेको बताएका हुन्।
निकट भविष्यमा वर्तमान प्रशिक्षक एन्टोनियो कोन्टेले टोटेनहम छाड्ने र उनको स्थान पोचेटिनोले लिने भविष्यवाणी क्रुकले गरे। कोन्टेले युभेन्टस जाने र अहिले फ्री एजेन्ट रहेका पोचेटिनो टोटेनहम फिर्ता हुने उनको अनुमान छ। पोचेटिनोलाई प्रिमियर लिगकै अर्को क्लब एस्टन भिल्लाले भित्र्याउन चाहेको भएपनि पोचेटिनो भिल्ला जाने सम्भावना नरहेको क्रुकले बताए।
“के म अलिकति भविष्यवाणी गर्न सक्छु? मेरो विचारमा म तपाईंलाई भविष्यमा टोटेनहममा के हुन्छ भनेर बताउनेछु। एन्टोनियो कोन्टे नयाँ सम्झौताका लागि सहमत भएका छैनन्। यो अवस्थालाई हेर्दा उनी युभेन्टस जान सक्ने देखिन्छ। कोन्टे युभेन्टस फर्किन्छन्, जबकि मौरिसियो पोचेटिनो टोटेनहम आउँछन्। पोचेटिनोलाई एस्टन भिल्लाले भित्र्याउन खोजेपनि पोचेटिनो चुपचाप बसिरहेका छन्। यसको अर्थ हो कि उनी ठूलो क्लबको पर्खाईमा रहेका छन्।”,क्रुक भन्छन्।
पोचेटिनोले सन् २०१९ सम्म झन्डै साढे ५ वर्ष टोटेनहमको जिम्मेवारी सम्हालेका थिए। सन् २०१९ को नोभेम्बरमा टोटेनहमले उनलाई बर्खास्त गरेको थियो। त्यसपछि उनी सन् २०२१ को जनवरीमा पेरिस सेन्ट जर्मेन(पिएसजी)मा आवद्ध भएका थिए। तर पिएसजीले पनि उनलाई सन् २०२१-२२ को सिजन सकिएलगत्तै उनलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाएको थियो।