एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन्। पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले केहि दिन अगाडी सामाजिक संजाल मार्फत सन्न्यासको घोषणा गरेका हुन्।
रिबेरीले सन्यासको घोषणा गरेपछि उनका पूर्व सहकर्मी तथ्या बायर्न म्युनिख लेजेण्ड आर्जेन रोबेनले ‘ट्रिब्युट’ दिएका छन्। लामो समय बायर्नमा हुँदै रिबेरीसँग खेलेका रोबेनले रिबेरीलाई ‘ट्रिब्युट’ दिएका हुन्।
सामाजिक संजालमा रोबेनले रिबेरीसँगै खेल्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताएका छन्। त्यसक्रममा उनले सबैकुराका लागि रिबेरीलाई धन्यवाद दिएका छन्।
“मेरो साथी सबै कुराको लागि धन्यवाद! तिमीसँग मैदान भित्र र बाहिर समय बिताउन पाउँदा आनन्द मिल्यो। तिमीले जे हाँसिल गरेका छौ, त्यसमा गर्व गर्नुपर्छ। ‘रोबेरी’को हिस्सा हुन पाउनु मेरा लागि पनि गर्वको कुरा थियो र हुनेछ। छुट्टै भेटौंला।”,रोबेनले सामाजिक संजालमा लेखेका छन्।
बायर्नबाट सँगै खेल्दा रोबेन र रिबेरीको जोडीलाई बायर्न समर्थकले ‘रोबेरी’को उपनामले बोलाउने गर्थे। दुई मिलेर बायर्नलाई कयौं उपाधि दिलाएका थिए। दुवै खेलाडी बायर्नको लेजेण्डको रुपम रहेका छन्।
सन् २००७ देखि २०१९ सम्म बायर्न म्युनिखबाट खेलेका रिबेरीले क्लबका लागि ९ लिग उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए। बायर्नका लागि ४ सय २५ खेल खेलेका उनले १ सय २४ गोल र १ सय ८२ असिस्ट दिएका थिए ।