एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा आइतबार राति भएको खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।
खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई आर्सनलले दोस्रो हाफमा जोगाउन सकेन ।
६५औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । आर्सनलको बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा भएको छ ।
यस बराबरीसँगै आर्सनलले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको आर्सनलको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोडेर १५औं स्थानमा रहेको छ ।