खुट्टामा घाउ हुँदा पनि छाडिनन् कुद्न, अन्त्यमा जितिन् सुई स्वर्ण !

पोखरा । पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आफूले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।

‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन, त्यसैले बुटलाई ढोगें ।’ नवौंमा १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन् ।

‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौंजस्तो भएको थियो । तर, अब रेकर्डभन्दा दौड पूरा गरौं भन्ने लाग्यो । गुरुसँगको सल्लाहमा नै दौडिएको सुनाउँदै उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाइ बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन । १० हजारको फलो गर्दै दौडिएको थिएँ । त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ । ५ हजार मिटरमा दौडन सक्छुजस्तो लागेको थिएन ।’

१० हजार मिटर दौड जितेपछि आप्mनो सफलता विभागबाहिरका खेलाडीलाई समर्पित गर्दै उनले भनिन्, ‘मेरो स्वर्ण बाग्मती प्रदेश, जो खेल्न चाहेर पनि आर्थिक, शैक्षिक र अन्य कारणले सकेनन् उनीहरू, कर्णाली प्रदेश र सबै पब्लिक अनि जुनियर खेलाडीमा समर्पित गर्न चाहन्छु ।’

२०७६ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)पछि १० हजार मिटर दौडमा स्वर्णधारी सन्तोषीले १० हजारमा स्वर्णकै लागि दौडिएको सम्झिइन् । ‘१० हजारमा रेकर्ड ब्रेक गर्न सक्थें तर केही चोटका कारण चाहिनँ, मन र दिमागले अगाडि जान दबाब दिइरहेको थियो । खुट्टाले दिएन,’ उनले भनिन् ।

सन्तोषीले ५ हजार मिटर दौडमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । पुलिसकी राजपुरा पछाईले रजत र त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानले कांस्यपदक जितिन् । राजपुराले १७ मिनेट १२.०५ सेकेन्ड र पूर्णलक्ष्मीले १८ मिनेट ०३.०० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । राजपुराले १० हजार मिटरममा पनि स्वर्णपदक जितेकी थिइन् ।

प्रकाशित : , ०, ००७:१३

युनाइटेडले लियो एस्टन भिल्लासँग बदला !