एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालाण्डलाई रोक्न सक्दो प्रयास गर्ने बताएका छन्। प्रिमियर लिगको महत्वपूर्ण खेलमा सिटीको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले हालाण्डलाई रोक्न सक्दो प्रयास गर्ने बताएका हुन्।
पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले हालाण्डलाई विश्वको उत्कृष्ट स्ट्राइकरको संज्ञा दिए। सकेसम्म हालाण्डलाई बल छुनबाट रोक्ने प्रयासमा आफूहरु हुने क्लोपले बताए। हालाण्डलाई बढी पछ्याउँदा अन्य खेलाडीले मौका पाउन सक्ने कुरालाई पनि मध्यनजर राखेर खेल्ने आफूहरुको योजना रहेको क्लोपको भनाई छ।
“हालाण्ड विश्वको उत्कृष्ट स्ट्राइकर हुन्। त्यसैले हामीले सकेसम्म उनले बलहरू नपाउन् भन्ने सुनिश्चित गर्नुपर्छ। हामी त्यही प्रयास गर्नेछौं। हालाण्डलाई मात्र प्राथमिकतामा राखियो भने अन्य खेलाडीले फाइदा उठाउन सक्छन्। हामीले त्यो कुरालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। सिटी विरुद्धको खेल पक्कै पनि सहज हुने छैन।”,क्लोपले भने।
पत्रकार सम्मेलनका क्रममा क्लोपले हालाण्ड शारीरिक र प्राविधिक रुपमा धेरै बलियो रहेको बताउन पनि छुटाएनन्। खेललाई राम्रोसँग पढ्ने क्षमता हालाण्डसँग रहेको क्लोपको भनाई छ।
उनी भन्छन्,”हालाण्डमा शारीरिक र प्राविधिक राम्रो संयोजन छ। उनलाई राम्रोसँग अफसाइडहरू कहाँ छन् भन्ने थाहा छ। उनी खेललाई राम्रोसँग पढ्न सक्छन्। उनी वरपरका उत्कृष्ट खेलाडीहरू पनि छन्, जसले धेरै भन्दा धेरै गोलको वातावरण बनाउन सक्छन्।”