एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले यस वर्षको बालोन डी’ओर जित्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले यस वर्षको बालोन डी’ओरको मुख्य दाबेदार बेन्जेमा रहेको बताएका हुन्।
तर त्यसक्रममा उनले बालोन डी’ओर उपाधि आयोजक माथि व्यंग्य गर्न भने छुटाएनन्। यस वर्षको बालोन डी’ओर स्थगित नभए बेन्जेमाले नै जित्ने लेवान्डोस्कीको भनाई छ।
“बेन्जेमा नै बालोन डी’ओरको दाबेदार हुन्। अवश्य पनि यदि उनीहरूले यसलाई रद्द गरेनन् भने यो बालोन डी’ओर बेन्जेमाले नै जित्नेछन्।”,लेवान्डोस्कीले मोभिस्टार प्लससँग कुराकानी गर्नेक्रममा भने।
बालोन डी’ओर विश्व फुटबलको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिगत पुरस्कार हो। सन् २००८ देखि यो अवार्डमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको अधिपत्य रहँदै आएको छ। सन् २००८ पछि मात्रै एक खेलाडीले सो उपाधि जितेका छन् र ती रियल म्याड्रिडका लुका मोड्रिच हुन्। उनले सन् २०१८ को बालोन डी’ओर जितेका थिए।
सन् २०२० मा लेवान्डोस्की बालोन डी’ओर उपाधिको धेरै नजिक थिए। सन् २०२० मा उनकै उच्च प्रदर्शनमा च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखले जितेको थियो। सो वर्ष उनले कुल ५५ गोल गर्दै १० असिस्ट दिएका थिए।
तर कोरोना भाइरस संक्रमणको महामारीका कारण बालोन डी’ओर रद्द भएको थियो। त्यसको अर्को वर्ष सन् २०२१ मा पनि लेवान्डोस्कीले आफ्नो उच्च लयलाई कायमै राखेका थिए। तर लेवान्डोस्कीलाई पछि पार्दै लियोनेल मेस्सीले सो अवार्ड जितेका थिए।