एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सन् २०२२-२३ को सिजनमा पनि युरोपा लिग खेल्ने सम्भावना बढेको छ। घरेलु लिगमा राम्रो गरिरहेपनि च्याम्पियन्स लिगमा राम्रो खेल्न नसक्दा बार्सिलोनाले पुनः युरोपा लिग खेल्ने सम्भावना बढेको हो।
‘गर या मर’ को स्थिति रहेको बार्सिलोनाले बुधबार राति जित्नै पर्ने खेलमा जित निकाल्न सकेन। बुधबार राति घरेलु मैदानमा भएको इन्टर मिलन विरुद्धको खेलमा बार्सिलोना जित निकाल्नै पर्ने दबाबमा थियो। तर बार्सिलोनाले हार टार्न समेत अन्तिम समय सम्म लड्नु पर्यो।।
इन्टरले गरेको काउन्टर अट्याक रोक्ने मामलामा बार्सिलोना निरिह देखियो। पहिलो हाफमा अग्रता लिएपनि बार्सिलोनाले सो अग्रता दोस्रो हाफमा जोगाउन सकेन। नोउ क्याम्पमा बुधबार राति भएको खेलमा इन्टरविरुद्ध घरेलु टोलीका लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेलेले एक गोल गरे । इन्टरका निकोलो बरेल्ला, लोउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे।
लेवान्डोस्कीको गोलले हार टारेपनि बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिने सम्भावना बढेको छ। समूह ‘सी’को शिर्ष स्थानमा रहेको बायर्न म्युनिख नकआउट चरणका लागि छनोट भइसकेको छ। अपराजित बायर्नसँग १२ अंक छ। त्यस्तो इन्टर दोस्रो स्थानमा रहेको छ। इन्टरसँग ७ अंक छ। तेस्रो स्थानको बार्सिलोना इन्टर भन्दा तीन अंकले पछाडी छ।
अब यस्तो भए मात्रै बार्सिलोना पुग्नेछ च्याम्पियन्स लिगको समूहचरणमा
बार्सिलोनाका लागि च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने बाटो पक्कै पनि बन्द भइसकेको छैन। बार्सिलोनासँग अर्को चरणमा पुग्ने केहि सम्भावना अझै बाँकी छ। तर त्यो सहज छैन। च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने बार्सिलोनाले बाँकी रहेका दुवै खेल जितेर मात्र पुग्नेछैन, इन्टरको खेलमा पनि भर पर्नुपर्नेछ।
इन्टरले समूहचरणमा बाँकी दुवै खेल हारेको खण्डमा बार्सिलोनालाई केहि राहत मिल्न सक्छ। तर त्यस अवस्थामा बार्सिलोनाले बाँकी दुवै खेल जित्नुपर्नेछ, जुन सहज देखिँदैन।
त्यस्तै बाँकी दुवै खेलमा इन्टर बराबरीमा रोकिएको अवस्थामा बार्सिलोनालाई फाइदा पुग्न सक्छ। त्यस्तो अवस्थामा पनि बार्सिलोनाले दुवै खेलमा जित निकाल्नुपर्नेछ।