यी खेलाडी तोड्न सक्छन् नेयमारको २ सय २२ मिलियन युरोको ट्रान्सफर रेकर्ड !

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमारको ट्रान्सफर विश्व फुटबल इतिहाँसकै सर्वाधिक महँगो ट्रान्सफर हो। सन् २०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नेयमार भित्र्याउन जति खर्च गर्यो, त्यसले फुटबल ट्रान्सफर बजारको ट्रेन्ड नै परिवर्तन गरिदियो।

नेयमारका लागि पिएसजीले त्यति बेला २ सय २२ मिलियन युरो खर्च गरेको थियो। नेयमारको ट्रान्सफर खर्चको रेकर्ड अहिले सम्म पनि तोडिएको छैन। यहाँ अहिले नेयमारको ट्रान्सफर खर्चको रेकर्ड तोड्न सक्ने केहि खेलाडी बारे चर्चा गर्दैछौँ। नेयमारको ट्रान्सफर खर्चको रेकर्ड कसले तोड्न सक्ला ?

फिल फोडेन

म्यानचेस्टर सिटीका फिल फोडेन युरोपका सबैभन्दा बहुमुखी खेलाडीमा पर्छन्। सिटीको एकेडेमीबाट सिनियर टोलीमा स्थान बनाएका उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीमा पनि राम्रो मौका पाइरहेका छन्। सिटीको सिनियर टोलीमा डेब्यू गरेयता उनले कुल १ सय ६९ खेल खेलेका छन्।

जसमा उनले ४५ गोल गर्दै ३३ असिस्ट दिएका छन्। ट्रान्सफरमार्केटका अनुसार फोडेनको बजार मूल्य ९० मिलियन युरो छ। आउने वर्षहरुमा अझ राम्रो गर्दै जाने हो भने उनले नेयमारको ट्रान्सफर रेकर्ड तोड्न सक्छन्।

भिनिसियस जुनियर

ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरका लागि सन् २०२१-२२ को सिजन उत्कृष्ट रह्यो। पूरा सिजनभर उनले धेरै राम्रो प्रदर्शन गरे। कार्लो एन्सेलोटीको नेतृत्वमा भिनिसियस रियल म्याड्रिडको महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्। रियलले लालिगा र च्याम्पियन्स लिग जित्दा भिनिसियसले महत्वपूर्ण भूमिका निभाए।

सन् २०२१-२२ को सिजनमा कुल ५२ खेल खेल्दा उनले २२ गोल गर्दै २० असिस्ट दिए। सो प्रदर्शनका कारण उनको बजार मूल्य ह्वात्तै बढेको छ। ट्रान्सफरमार्केटका अनुसार उनको बजार मूल्य अहिले १ सय मिलियन युरो रहेको छ। आउने वर्षहरुमा उनको बजार मूल्य अझै बढ्नेछ।

पेड्रि

बार्सिलोनाका पेड्रि अहिले विश्वकै सबैभन्दा प्रतिभाशाली सेन्ट्रल मिडफिल्डरको रूपमा परिचित छन्। पेड्रि पछिल्लो युरो कपको उत्कृष्ट युवा खेलाडी समेत हुन्। बार्सिलोनाका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी स्पेनको राष्ट्रिय टोलीमा पनि नियमित मौका पाइरहेका छन्।

सन् २०२१-२२ को सिजनमा चोटका कारण कम खेल्न सकेपनि बार्सिलोनाले उनलाई दिर्घकालिन काम आउने खेलाडीको रुपमा हेरेको छ। बार्सिलोनामा उनको सम्झौता सन् २०२६ सम्मका लागि छ। पेड्रिको बजार मूल्य अहिले ८० मिलियन युरो छ।

एर्लिङ हालाण्ड

रेडबुल साल्जबर्गमा उत्कृष्ट प्रदर्शन गरेपछि बोरुसिया डर्टमण्ड पुगेका हालाण्ड अहिले म्यानचेस्टर सिटीमा छन्। उनी यसै ट्रान्सफर विन्डोमा सिटीसँग आवद्ध भएका हुन्। डर्टमण्ड पुगेयता निरन्तर सिनियर टोलीमा स्थान बनाउन सफल उनले डर्टमण्डका लागि निरन्तर गोल गर्न सफल भए। सन् २०२१-२२ को सिजनमा चोटका कारण केहि खेल गुमाएपनि उनले कुल २९ खेल खेले।

जसमा उनले २७ गोल गर्दै ५ असिस्ट दिए। जर्मन बुन्डेसलिगामा डर्टमण्डबाट कुल ६७ खेल खेल्दा उनले ६२ गोल गर्न सफल भए। सिटी जानु भन्दा अगाडी उनी युरोपका सबै ठूला क्लबका नजरमा थिए। यदि सिटीले आउने सिजनहरुमा उनलाई बिक्री चाहने हो भने २ सय मिलियन युरो भन्दा बढी रकम खर्च गर्न तयार हुन सक्छन्। हालाण्डको बजार मूल्य अहिले १ सय ५० मिलियन युरो छ।

किलियन एम्बाप्पे

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे अहिले विश्व फुटबलकै चर्चित अनुहार हो। पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग गत महिना मात्रै सम्झौता थप गरेका उनी पिएसजीमा सन् २०२५ सम्मका लागि रहनेछन्। गएको केहि सिजन देखि निरन्तर उच्च प्रदर्शन गरिरहेका उनी सन् २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए। पिएसजी पुगेयता उनले गत सिजन सम्म नै २ सय १७ खेलमा १ सय ७१ गोल गरेका छन् भने उनको नाममा ८८ असिस्ट छ।

गत सिजन रियल म्याड्रिडले उनलाई भित्र्याउन खोजेको थियो। त्यसबेला रियल २ सय मिलियन युरो सम्म खर्च गर्न तयार भएको थियो। एम्बाप्पेको बजार मूल्य अहिले १ सय ६० मिलियन युरो छ। जुन आउने वर्षहरुमा थप बढ्दै जानेछ। पिएसजी छाड्ने निर्णय गर्ने हो र पिएसजीले उनलाई बिक्री गर्न चाहने हो भने ट्रान्सफरमा नेयमारले बनाएको रेकर्ड एम्बाप्पेले सहजै तोड्न सक्छन्।

प्रकाशित : , ०, ०११:३०

हाजार्ड भन्छन्- “फुटबल जगतमा छन् एक मात्र ‘गोट’: ती हुन् मेस्सी”