एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल जुनै पनि हालतमा जर्मन क्लब बोरुसिया डर्टमन्डका मिडफिल्डर जुड बेलिङ्घमलाई भित्र्याउन चाहन्छ। क्लबमा युवा मिडफिल्डरको कमि रहेका कारण लिभरपुलले बेलिङ्घमलाई भित्र्याउन चाहेको हो।
बेलिङ्घम माथि लिभरपुलले केहि सिजन देखि नजर लगाइरहेको छ। बेलिङ्घमलाई भित्र्याउन चाहनेमा लिभरपुल एक्लो छैन। बेलिङ्घमलाई युरोपका धेरै क्लबहरुले भित्र्याउन चाहेका छन्। रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन(पिएसजी), म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी जस्ता क्लबको नजर बेलिङ्घम माथि रहेको छ।
बेलिङ्घमलाई जुन सुकै क्लबले भित्र्याएपनि ठूलो मूल्य खर्च गर्नुपर्नेछ। ट्रान्सफर मार्केटका जानकारहरुको भनाईलाई मान्ने हो भने बेलिङ्घमलाई भित्र्याउन चाहने क्लबले १ सय ५० मिलियन युरो सम्म खर्च गर्नुपर्ने हुन सक्छ।
विभिन्न बेलायती मिडियाहरुमा आएका खबरका अनुसार लिभरपुल बेलिङ्घमलाई भित्र्याउन अहिले देखि नै तयारीमा जुटिसकेको छ। बेलिङ्घमलाई भित्र्याउने अवसर मिल्नेबितिकै हाम फाल्ने लिभरपुलको तयारी छ। तर लिभरपुलको यो योजनामा म्यानचेस्टर सिटीका हिटम्यान एर्लिङ हालाण्ड बाधक बन्न सक्छन्।
हालाण्डले पूर्व टोली साथी जुड बेलिङ्घमलाई सिटी आउन सुझाव दिसकेको बताइन्छ। हालाण्डले बेलिङ्घमलाई सिटी आउन फकाइरहेको पत्रकार बेन ज्याकब्स बताउँछन्। ज्याकब्सका अनुसार बेलिङ्घम रियल म्याड्रिड जाने पक्षमा छैनन्। प्रिमियर लिगमा नै खेल्ने उनको चाहना छ।
तर उनले कुन क्लब जाने भनेर कुनै पनि निर्णय गरिसकेका छैनन्। तर हालाण्डको सुझाव अनुसार उनी सिटी जान सक्ने सम्भावनालाई नकार्न नसकिने ज्याकब्सको भनाई छ।