‘इख’का कारण नेयमारमा आयो कसैले नसोचेको परिवर्तन !

एजेन्सी – सन् २०२१-२२ को सिजन ब्राजिलियन स्टार नेयमारका लागि खासै राम्रो रहेन। एक हिसाबले भन्ने हो भने सन् २०२१-२२ को सिजन नेयमारले उच्च स्तरमा खेल्न थालेपछिकै कम्जोर सिजन थियो। चोटले समेत दुख दिएको सिजनमा नेयमारले विभिन्न समस्याबाट गुज्रनुपर्यो।

सिजनभर नेयमारले पिएसजीका लागि कुल २८ खेल खेले। जसमा उनले सबै प्रतियोगितामा १३ गोल गरे। सिजनभरमा उनले ८ असिस्ट पनि दिए। च्याम्पियन्स लिगमा त नेयमारले एक गोल पनि गर्न सकेका थिएनन्। च्याम्पियन्स लिगका ६ खेलमा ४ सय ६७ मिनेट खेल्दा नेयमारले दुई असिस्ट मात्र दिन सकेका थिए।

च्याम्पियन्स लिगमा गोलको खाता सम्म खोल्न नसकेका कारण नेयमारले चर्को आलोचना खेप्न पर्यो। नेयमारले गत सिजन मिडिया र समिक्षक मात्र नभई पिएसजी समर्थकबाटै आलोचित हुन परेको थियो। नेयमार विरुद्ध पिएसजी समर्थक नै आलोचनामा उत्रिएका थिए।

नेयमार विरुद्ध पिएसजीका खेलहरुमा नाराबाजी समेत हुने गरेका थिए। ‘नेयमार आउट’ जस्ता नारा पिएसजीको खेलमा लाग्नु सामान्य जस्तै भएको थियो। आफ्नै क्लबका समर्थकका यस्तो व्यवहारले पक्कै पनि नेयमारलाई प्रभाव परेको थियो। त्यहि भएर त उनी अहिले छुट्टै लयमा छन्। पिएसजी समर्थकबाटै भएको सो व्यवहारलाई गम्भीर रुपमा लिएर नेयमारले आफूमा विभिन्न परिवर्तनहरु ल्याए।

सन् २०२१-२२ को सिजन सकिएपछिको छुट्टिको समयलाई पनि उनले राम्रोसँग सदुपयोग गरे। फलस्वरूप उनी छुट्टै स्तर र लयमा देखिएका छन्। नयाँ सिजन सुरु भएपछि नेयमारले मात्रै १० खेलमा ११ गोल गरिसकेका छन्। साथै उनको नाममा ७ असिस्ट पनि दर्ता भइसकेको छ।

नेयमारको यो सेलेब्रेसन

नयाँ सिजन सुरु भएपछि नेयमार छुट्टै लयमा मात्र देखिएका छैनन्, उनको गोल सेलेब्रेसनको शैली पनि बदलिएको छ। लगभग हरेक खेलमा गोल गरिरहेका उनी गोल गरिसकेपछि गत सिजनहरुमा भन्दा फरक शैलोमा खुशियाली मनाइरहेका छन्। नेयमारको सो गोल सेलेब्रेसन आलोचकहरु लक्षित रहेको सहजै बुझ सकिन्छ। त्यसमा पिएसजी समर्थक पनि छन्, जसले उनी विरुद्ध तुच्छ नारा लगाएका थिए।

प्रकाशित : , ०, ०१८:२२

“मेस्सीको स्तर नै छुट्टै छ, कोहिसँग पनि तुलना हुन सक्दैन”