एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलको कम्ब्याक अझै बाँकी रहेको बताएका छन्। च्याम्पियन्स लिगको दोस्रो खेलमा डच क्लब आयक्सलाई २-१ को गोल अन्तरले पराजित गरेसँगै पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले लिभरपुलको कमब्याक अझै बाँकी रहेको बताएका हुन्।
खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले आयक्स विरुद्धको जित पहिलो कदम मात्र रहेको बताए। आयक्स विरुद्धको जित पश्चात राम्रो समय सुरु भयो भनिहाल्ने अवस्था नरहेको क्लोपको भनाई छ। क्लोपले आयक्ससँगको खेल पछि लामो छुट्टै रहेको र सो छुट्टि पछि सबै खेलाडीहरु फिट अवस्थामा फर्किने विश्वास व्यक्त गरे।
“यो राम्रो जित थियो र केटाहरुले राम्रोसँग खुशियाली मनाए। नकारात्मक वा सकारात्मक, केहि पनि ‘समाप्त’ छैन। यो पहिलो चरण हो। तर यसलाई धेरै महत्त्वपूर्ण चरण भने भन्न सकिन्छ। अब हामीसँग अनौठो विश्राम छ, धेरै लामो। आशा र प्रार्थना गर्नुपर्छ कि केटाहरू [अन्तर्राष्ट्रिय विश्रामबाट] फिट र स्वस्थ फर्कन्छन्। ब्राइटन त पर्खिरहेकै छ।”,क्लोपले भने।
जारी सिजनमा लिभरपुलले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। प्रिमियर लिगमा कम्जोर प्रदर्शन गरिरहेको लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा नापोलीसँग ४-१ को गोल अन्तरले पराजित भएको थियो। च्याम्पियन्स लिगको दोस्रो खेलमा आयक्स विरुद्ध जित निकालेसँगै लिभरपुललाई ठूलो राहत पनि मिलेको छ। एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल मटिपले गोल गरे । आयाक्सका मोहम्मेद कुडुसले एक गोल फर्काए ।
खेलको १७औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । २७औं मिनेटमा मोहम्मेद कुडुसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काए । उनले स्टेभन वर्गवाइनको पासलाई सदुपयोग गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित दिलाए ।