एजेन्सी – स्पेनिस फरवार्ड डिएगो कोस्टा इंग्लिस प्रिमियर लिगमा फर्किएका छन् । वल्भ्सले चेल्सीका पूर्व फरवार्ड कोस्टालाई सिजनको अन्त्यसम्म निःशुल्क ट्रान्सफरमा अनुबन्ध गरेको छ ।
३३ वर्षीय कोस्टा जनवरीमा ब्राजिलियन क्लब एट्लेटिको मिनेइरो छोडेदेखि क्लबविहीन थिए । कोस्टाले गत बिहीबारै आफ्नो मेडिकल पूरा गरेका थिए । उनले आफ्नो फिटनेस र उपयुक्तताको मूल्यांकन गर्न गत हप्ता वल्भ्ससँग परीक्षण गरेका थिए ।
‘यो मेरो हस्ताक्षर खेलाडी सासा कालाजिकको चोटका कारण सम्भव भएको हो । तर, यो राम्रो थिएन,’ कोस्टाले भने, ‘म उनलाई स्वास्थ्य लाभको कामना गर्दछु । उहाँको लागि राम्रो बाहेक अरू केहि चाहन्न ।’
डिएगोले ड्रेसिङ रुम र पिचमा अनुभव थप्ने वल्भ्सका अध्यक्ष जेफ शिले बताएका छन् । कोस्टा करिब ८ महिनापछि व्यावसायिक खेल करिअरमा फर्कंदै छन् । कोस्टाले अन्तिमपटक सन् २०२१ डिसेम्बर १२ खेलेका थिए । त्यसबेला उनले एट्लेटिको मिनेरोलाई कोपा डे ब्राजिल जिताएका थिए ।
करिअरमा ४९५ खेल खेलेका कोस्टाले १८८ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक प्रिमियर लिग र एक लिग कप जितेका छन् । कोस्टाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि दुई ला लिगा, तीन युइएफए सुपर कप र समान एक पटक युरोपा लिग र कोपा डेल रे जितेका छन् । वल्भ्स यो सिजन ६ खेलमा एक जितसहित १४औं स्थानमा छ ।