फुटबलमा आज नेपालका तीन खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं   – नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू-१७ र यू-२० टोली पनि मैदानमा उत्रनेछन् ।

दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा भुटानविरुद्ध ४-० को जित दर्ता गर्दै बलियो स्थितिमा छ । भुटानले दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब आजको खेलले समूहको समिकरण पूरा गर्नेछ ।

नेपालले जित वा बराबरीको नतिजा निकाले समूह विजेता बन्नेछ । श्रीलंकाले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई ५ गोलको अन्तरले हराउनु पर्नेछ । नेपाल २ गोलको अन्तरले हार्दासम्म पनि समूह विजेता नै बन्नेछ । जित वा बराबरीले पनि नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।

आज नै साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ । समूह बीमा भुटान र भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । भुटानमाथि २-१ को जित दर्ता गरेको नेपालले अन्तिम खेलमा भारतलाई ३-१ ले हराएको थियो ।

नेपालले एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोटमा आज कतारसँग पनि खेल्दैछ । बहराइनको अल मुहारक रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ११:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएपछि नेपालले खराब सुरुवात गरेको छ । कतार प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

खेल तालिका :

साँझ ५:३० बजे – छैटौं महिला साफ च्याम्पियनसिप – नेपाल विरुद्ध श्रीलंका / रातको ८:१५ बजे – साफ यू-१७ च्याम्पियनसिप – नेपाल विरुद्ध श्रीलंका / रातको ११:४५ बजे – एएफसी यू-२० च्याम्पियनसिप छनोट – नेपाल विरुद्ध कतार

प्रकाशित : , ०, ००८:३८

“ब्राजिलसँग धेरै महान खेलाडी छन्, तर उनीहरु हामी भन्दा राम्रो छैनन्”