एजेन्सी – आर्सनलका पूर्व खेलाडी बकारी साग्नाले जारी सिजनमा प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर सिटीलाई आर्सनलले टक्कर दिने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा साग्नाले प्रिमियर लिगको उपाधि होडमा सिटीलाई आर्सनलले टक्कर दिने बताएका हुन्।
आर्सनल र म्यानचेस्टर सिटी दुवैका लागि खेलेजा साग्नाले प्रिमियर लिग उपाधिका लागि म्यानचेस्टर सिटीको मुख्य प्रतिष्पर्धी आर्सनल हुने दावी गरे। उनले भने,”मलाई लाग्छ प्रिमियर लिग उपाधिका लागि म्यानचेस्टर सिटीको मुख्य प्रतिस्पर्धा आर्सनलसँग हुन सक्छ। आर्सनल प्रिमियर लिग उपाधिको बलियो दाबेदार रहेको छ।”
आर्सनल बाहेक प्रिमियर लिगका अन्य टोलीले सिटीलाई टक्क दिन सक्ने अवस्था आफूले नदेखेको साग्नाले बताए। साडियो मानेले क्लब छाडेका कारण सिटीलाई लिभरपुलले टक्कर दिन सक्ने अवस्था छैन। माने बिना लिभरपुल धेरै कम्जोर देखिएको उनको भनाई छ।
“आर्सनल बाहेक अन्य टोलीले सिटीलाई टक्कर दिन सक्ने म देख्दिन। लिभरपूललाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। तर मानेको बहिर्गमन पछि लिभरपुल उस्तै छैन। माने र मोहम्मद सलाह एकअर्काको राम्रोसँग पूरक थिए। माने नहुँदा पक्कै पनि लिभरपुललाई समस्या पर्ने देखिन्छ र परिरहेको पनि छ।”,साग्नाले भने।
सिजनको सुरुवातमै लिभरपुलले अंक गुमाइसकेको हुँदा सिटीलाई भेट्टाउन नसक्ने उनले दावी गरे। उनले भने,”अहिले नै लिभरपुलले यति धेरै अंक गुमाइसकेको छ। यो देख्दा लिभरपुलले सिटीले भेट्टाउछ जस्तो मलाई लाग्दैन।”