एजेन्सी – क्याटलान क्लब बार्सिलोना लेजेण्ड कार्लेस पुयोलले बार्सिलोनामै करियरको अन्त्य गर्ने चाहना भए लियोनेल मेस्सी बार्सिलोना फिर्ता हुने बताएका हुन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पुयोलले बार्सिलोनामा करियरको अन्त्य गर्न चाहेको खण्डमा मेस्सी बार्सिलोना फिर्ता हुने दावी गरेका हुन्।
पुयोलका अनुसार बार्सिलोना फिर्ता हुन मेस्सीका लागि ढिला भएको छैन। पेरिस सेन्ट जर्मेन(पिएसजी)मा मेस्सीको सम्झौता अझै एक वर्ष रहेका कारण एक वर्षमा धेरै कुरा परिवर्तन हुने पुयोलले बताए।
मेस्सीको बार्सिलोना फिर्ति जाभी र मेस्सीमा निर्भर रहने पुयोलको बुझाई छ। जे जसो भए पनि मेस्सीलाई बार्सिलोनामा सधै स्वागत गरिने पुयोलले सो अन्तर्वार्ताका क्रममा बताए।
“लियो मेस्सी फर्किन ढिलो भएको छैन। उनको सम्झौतामा एक वर्ष बाँकी छ र त्यो समयमा धेरै चीजहरू हुन सक्छन्। यो जाभी र लियोमा भर पर्छ, तर बार्सिलोनामा उनलाई सधैं स्वागत गरिनेछ।”,पुयोलले भने।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा समेत मेस्सीलाई बार्सिलोनामा फिर्ता चाहन्छन्। लापोर्टाले सार्वजनिक रुपमै मेस्सीले बार्सिलोना फिर्ता भएर आफ्नो खेल जीवनको अन्त्य गरुन् भन्ने आफूले चाहेको बताइसकेका छन्।
लापोर्टाका अनुसार मेस्सीलाई फिर्ता गराउने र बार्सिलोनामा करियरको अन्त्य गर्ने माहोल बनाउने उनको दायित्व रहेको छ। क्लब अध्यक्ष नै मेस्सीलाई फिर्ता गराउने पक्षमा रहेको अवस्थामा मेस्सी बार्सिलोना फिर्ता नहोलान् भन्न सकिँदैन।
गत सिजन मेस्सी बार्सिलोनामा रहन नमिल्ने भएपछि पिएसजी पुगेका थिए। पिएसजीसँग मेस्सीको यस सिजन सम्मका लागि सम्झौता छ। पिएसजीले अहिले देखि नै मेस्सीको सम्झौता नवीकरण गर्न प्रयास गरिरहेको छ।