एजेन्सी – लन्डन क्लब आर्सनलको अपराजित यात्राको अन्ततः अन्त्य भएको छ। आइतबार राति ओल्ड ट्राफोर्डमा आर्सनलको अपराजित यात्राको अन्त्य भएको हो। आइतबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनलले घुँडा टेक्यो।
बलमा अबधि नियन्त्रण राखेपनि आर्सनलले आक्रमणमा त्यति राम्रो गर्न सकेन। युनाइटेड विरुद्धको खेलमा आर्सनलले बलमा ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर आर्सनलको तर्फबाट १६ प्रहार भएका थिए। तर ती मध्ये धेरै प्रहार टार्गेटमा थिएनन्।
आर्सनलको तर्फबाट भएका प्रहार मध्ये मात्रै तीन प्रहार टार्गेटमा थिए। जसमध्ये एक प्रहारले गोलपोस्ट पनि चुम्यो। सो गोल दोस्रो हाफको ६० औं मिनेटमा आबुकायो साकाले गरेका थिए।
तर बलमा कम नियन्त्रण राखेर पनि युनाइटेडले पनि राम्रो आक्रमण गर्न सक्यो। खेलभर युनाइटेडको तर्फबाट मात्रै १० प्रहार भएका थिए। तर आधा भन्दा बढी ६ प्रहार टार्गेटमा थिए। त्यसमध्ये तीन प्रहार गोलमा समेत परिणत भएका थिए। युनाइटेडका लागि एन्टोनीले एक र मार्कस रासफर्डले दुई गोल गरेका थिए। युनाइटेडबाट भएका सबै काउन्टर अट्याकबाट भएका थिए।
आइतबार पराजित भएसँगै आर्सनलले शिर्ष स्थानमा स्पष्ट ४ अंकको अग्रता बनाउने अवसर गुमाएको छ। आर्सनलले यस अगाडी कम्जोर टोलीहरुको मात्र सामना गरेको थियो। आर्सनलले यस अगाडी सामना गरेका टोलीहरुमा क्रिस्टल ल्यालेस, लेस्टर सिटी, बोर्नमाउथ, फुलह्याम र एस्टन भिल्ला छन्। युनाइटेडसँगको खेलमा पराजित भएसँगै आर्सनलले शिर्ष क्लबहरु विरुद्ध जित निकाल्न नसकने संकेत देखिएको छ।
आर्सनलले आफूलाई प्रमाणित गर्नु छ र शिर्ष चारमा अटाउनुछ भने म्यानचेस्टर सिटी, लिभरपुल, टोटेनह्याम, चेल्सी जस्ता क्लबहरुलाई पनि पराजित गर्नुपर्नेछ। सिजनको शुरुवात धेरै राम्रो लयमा गरेपनि अब आर्सनलको अगाडी कयौं चुनौती छन्। युनाइटेड विरुद्धको खेलमा बेहोरेको हारलाई बिर्सिएर आर्सनलले नयाँ लय समाउनुपर्नेछ।