एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सियाले सानदार जित निकालेको छ । भ्यालेन्सियाले गेटाफेमाथि ५–१ को फराकिलो जित आत्मसात गरेको हो । गोलको वर्षा भएको खेलमा भ्यालेन्सियाको जितमा टोनी लाटो, स्यामुइल डियास लिनो, स्यामुइल क्यास्टेलेजो, निको गोन्जालेज र ह्युगो डुरोले गोल गरे । गेटाफेका गास्टन अल्भारेजले गोल गरे ।
भ्यालेन्सियामा आइतबार राति भएको खेलको सातौं मिनेटमा टोनी लाटोको गोलबाट भ्यालेन्सियाले सुरुवाती अग्रता लिन सफल भयो । १४औं मिनेटमा स्यामुइल डियास लिनोले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे ।
१६औं मिनेटमास्यामुइल क्यास्टेलेजोले गोल गरेपछि भ्यालेन्सिया खेलमा ३–० ले अघि बढ्यो । ६५औं मिनेटमा निको गोन्जालेजले तथा ६८औं मिनेटमा ह्युगो डुरोले गोल गरेपछि भ्यालेन्सिया खेलमा ५–० ले अघि बढ्यो । ७८औं मिनेटमा गास्टन अल्भारेजले गोल गर्दै खेललाई ५–१ स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा भ्यालेन्सिया फराकिलो जित निकाल्न सफल भयो ।
खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । ८८औं मिनेटमा भ्यालेन्सियाका एलिएक्स मोरिवा तथा गेटाफेका मोउरो आर्मवारी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । भ्यालेन्सियाको यो दोस्रो जित हो । यस जितसँगै भ्यालेन्सिया ४ खेलबाट ६ अंक जोडेर १०औं स्थाना उक्लिएको छ । पराजित गेटाफे १ अंक जोडेर १९औं स्थानमा छ ।