लियोनल मेस्सीले किलियन एमबाप्पेलाई दुई गोलका लागि असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति नान्टेसलाई ३-० ले पराजित गरेको छ।
एम्बाप्पेले खेलको १८ मिनेट भित्र उत्कृष्ट गोल गर्दै पीएसजीलाई बलियो सुरुवात दिएका थिए र फाबियोले रातो कार्ड पाएपछि नान्टेसको पुनरागमनको आशा निकै कम भएको थियो। दोस्रो हाफमा एम्बाप्पे र नुनो मेन्डेसको गोलले पीएसजीलाई फराकिलो जित दिलायो। यो जित पेरिस क्लबका लागि अत्यन्तै सहज थियो र पीएसजीले सिजनमा आफ्नो अपराजित सुरुवात जारी राखेको छ। पीएसजीसँग पहिले नै +२० को गोल भिन्नता छ।
सिजनको निकै उत्कृष्ट सुरुवात गरेपनि प्रशिक्षक क्रिस्टोफर ग्याल्टियरले ब्राजिलियन स्टार नेयमारलाई भने यस खेलमा आराम दिएका थिए। यद्यपि, ब्राजिलियनले दोस्रो हाफको विकल्पको रूपमा कार्यमा प्रवेश गरेका थिए। नेयमारले गरेको एक प्रहार पोष्टमा लागेर फर्किएको थियो जसलाई डिफेन्डर नुनो मेन्डेसले सदुपयोग गर्दै तेस्रो गोल गरेका थिए।
गत सिजन स्टार नामको बाबजुद निकै फितलो देखिएको मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो केही प्रभावित देखिएको थिएन। तर यस सिजन भने तीनै स्टार निकै उत्कृष्ट लयमा रहेका छन्। सिजनको पहिलो ६ खेलमा मेस्सीले ३ गोल गर्दा ६ असिस्ट प्रदान गरेका छन् भने एम्बाप्पेले ७ गोल गरिसकेका छन्। ब्राजिलियन स्टार अझै उत्कृष्ट लयमा छन् जसले लिगमा ७ गोल गर्नुका साथै ६ असिस्ट पनि प्रदान गरेका छन्। यी ३ खेलाडी हालसम्म ६ लिग खेलमा २९ गोलमा संलग्न भएका छन्।
क्रिस्टोफ गाल्टियरको टोलीले मंगलबार युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको समूह चरणको नयाँ सिजन सुरु गर्दा युरोपमा आफ्नो राम्रो घरेलु लय जारी राख्ने आशा गर्नेछ।