एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ । बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युनियन बर्लिनका लासग सेराल्डो बेकरले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।
बर्लिनमा शनिबार राति भएको खेलको १२औं मिनेटमा सेराल्डो बेकरको गोलबाट बायर्न पछि परेको थियो । तर, बर्लिनको अग्रता तीन मिनेट पनि टिकेन । १५औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि बायर्नले घरेलु टोलविरुद्ध ७५ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । यो बराबरीसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नयाँ सिजनमा बायर्नको यो दोस्रो बराबरी हो । अपराजित रहेको बायर्नले यसअघि फ्रान्कफर्ट वल्फ्सवर्ग र बोचुमलाई पराजित गर्दा बोरुसिया मोन्चेनग्लाडवाकसँग बराबरी खेलेको थियो । समान ११ अंक नै रहेपनि युनियन गोल अन्तरमा बायर्नभन्दा पछि छ । युनियन पनि अपराजित टोली हो । बर्लिनले पनि तीन जित र दुई बराबरीको नतिजा निकालेको छ ।
अर्काे खेलमा कप्तान मार्काे रिउसको गोलमा बोरुसिया डर्टमुन्डले होफेनहाइनलाई १–० ले पराजित गरेको छ । रिउसले १६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै अपराजित रहेको डर्टमुन्ड ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १२ अंक नै रहेपनि गोल अन्तरमा फ्रेइवर्ग शीर्षस्थानमा छ । पराजित होफेनहाइन ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अन्य नतिजा
लिभरकुसनविरुद्ध फ्रेइवर्ग (२–३), स्टुटगार्टविरुद्ध साल्के (१–१), बोचुमविरुद्ध वेर्डर ब्रेमेन (०–२), वल्फ्सवर्गविरुद्ध कोल्न (२–४) र फ्रान्कफुर्टविरुद्ध आरबी लाइप्जिग (४–०)