एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । सिटी घरेलु टोली एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो । उच्च लयमा रहेको नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले ५०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगको ६ खेलमा १० गोलसँगै एक असिस्ट दिइसकेका छन् ।
तर, सिटीको अग्रता लामो समय टिकेन । ७४औं मिनेटमा लिओन बेइलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ज्याकोप राम्सेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यो बराबरीसँगै सिटीले आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । अपराजित रहेको सिटीको ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिटीभन्दा एक खेल कम खेलेको आर्सनल लगातार पाँच जितबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एस्टन भिल्ला ४ अंक जोडेर १७औं स्थानमा छ ।