एजेन्सी – एट्लेटिको म्याड्रिडका फरवार्ड जोआओ फेलिक्सले यसै वर्ष हुँदै गरेको विश्वकपमा पोर्चुगलले धेरै राम्रो प्रदर्शन गर्ने दावी गरेका छन्। एक मिडियासँग कुराकानीका क्रममा फेलिक्सले क्रिस्टियानो रोनाल्डोको उपस्थितिका कारण पोर्चुगलले विश्वकपमा राम्रो प्रदर्शन गर्ने बताएका हुन्।
ईएसपीएनसँगको कुराकानीका क्रममा फेलिक्सले नखेलेपनि क्रिस्टियानो क्रिस्टियानो हुने बताए। रोनाल्डोलाई टोलीमा पाउनु आफूहरुक लागि सम्मानको कुरा रहेको फेलिक्सको भनाई छ। म्यानचेस्टर युनाइटेडको कम्जोर लयले पोर्चुगलको राष्ट्रिय टोलीलाई कुनै प्रभाव नपार्ने बताए।
“उनी खेलिरहेका छैनन् भने पनि, क्रिस्टियानो क्रिस्टियानो हुन्। उनलाई हाम्रो टोलीमा पाउनु सम्मानको कुरा हो। ३७ वर्षको उमेरमा पनि उनलाई हामी उत्तिकै भरोसा गर्न सक्छौं। मलाई लाग्छ कि म्यानचेस्टरको सिजन राम्रो नभएको तथ्यले हाम्रो राष्ट्रिय टोलीलाई असर गर्दैन। विश्वकपमा हामी धेरै राम्रो गर्छौं भन्ने मलाई पूरा विश्वास छ।”,फेलिक्सले बताए।
सन् २०२२-२३ को सिजन शुरु भइसकेको अवस्थामा पनि रोनाल्डो युनाइटेड छाड्ने सोचमा छन्। युनाइटेडको कम्जोर अवस्थासँगै रोनाल्डो क्लब परिवर्तनको मुडमा देखिएका हुन्। रोनाल्डोले क्लब छाड्न चाहेपनि उनले नयाँ क्लब भने भेट्टाउन सकेका छैनन्।
रोनाल्डोलाई युनाइटेडले आफ्नो योजनामा राखेको छ। प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो आफ्नो योजनामा रहेको दावी गरिरहेका छन्। तर रोनाल्डोले नयाँ सिजन शुरु भएपछि युनाइटेडको शुरुवाती ११ मा स्थान भने बनाउन सकेका छैनन्।