टेन हाग भन्छन् – ‘रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमै छ’

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले लिभरपुलविरुद्ध बेन्चमा सीमित रहेका क्रिस्टियानो रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमा अझै रहेको रहेको बताएका छन्।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिरभपुलमाथि २–१ को रोमाञ्चक जित निकाल्दा बेन्चमा रहेका रोनाल्डोबारे बोल्दै प्रशिक्षक टेन हागले भविष्य अझै रहेको बताएका हुन्।

युनाइटेड रोनाल्डोबिना पनि खेल्न सक्छ भन्ने लक्ष्यका साथ अगाडि बढ्न चाहिरहेको छ। नयाँ सिजनअन्तर्गत लगातार दुई खेलमा पराजित भएको युनाइटेडले तेस्रो खेलमा मात्र सुखद नतिजा निकाल्न सफल भएको हो।

टेन हागको आक्रामक रणनीति सोमबार सफल हुँदा रोनाल्डो अन्तिम चार मिनेट मैदान प्रवेश गरेका थिए। मार्कोस रसफोर्डको स्थानमा टेन हागले रोनाल्डोलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराएका थिए। अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।

रोनाल्डोलाई बेन्चमा राख्दै प्रशिक्षक टेन हागले जोखिम लिएको खेलमा जाडोन सान्चोले १६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा युनाइटेडले लिभरपुलविरुद्ध दोस्रो गोल गर्दा एक गोल खान पुगेको थियो।

५३औं मिनेटमा रसफोर्डले टोलीका लागि दोस्रो गोल गर्दा ८१औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै अग्रता छोट्याएका थिए। बाँकी समयमा लिभरपुलले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन।

पारिवारिक कारणले रोनाल्डोले युनाइटेडको प्रि–सिजन भ्रमण गुमाएका थिए। क्लब छाड्न चाहेको चर्चा चलिरहेको अवस्थामा रोनाल्डोको युनाइटेडमा नयाँ सिजन अन्योल भएको थियो। तर प्रशिक्षक टेन हागले पनि रोनाल्डोलाई बेच्ने सोच क्लबमा नरहेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए।

प्रकाशित : , ०, ००८:१२

”बोल्नेभन्दा पनि खेलेर उपाधि जित्ने हो, बंगलादेशसँग खेल्न तयार छौंं’