“क्यान्टोनमेन्टमा भएको ७ अर्ब घोटालाको हिसाबकिताब प्रचण्डले दिनुपर्छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझी क्यान्टोनमेन्टमा भएको सबै घोटालाको हिसाबकिताब हुने बताएका छन्।

पूर्वजनमुक्ति सेना नेपालले बुटवलमा आयोजना गरेको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा रायमाझीले क्यान्टोनमेन्टमा भएका सबै घोटालाको खोजतलास हुने बताएका हुन्।

शनिबार आयोजित भेलामा बोल्दै पुरानो व्यवस्था पल्टाएर नयाँ व्यवस्था ल्याउने सबै पूर्वलडाकुलाई सम्झनुपर्ने उनले बताए। क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्दा सात अर्ब घोटाला भएको उनको भनाई छ।

“पुरानो व्यवस्था पल्टाएर नयाँ व्यवस्था ल्याउने सबै पूर्वलडाकुलाई हामीले सम्झनुपर्छ”, मन्त्री रायमाझीले भने, “क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्यौँ, करिब रु सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ ।”

त्यसको उत्तर प्रचण्डले दिनुपर्ने पनि उनले बताए। भेलामा रायमाझीले दाहाल–नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक सङ्घर्षमा लागेको आरोप लगाए। प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको उनको टिप्पणी छ।

“र्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो?, पार्टीभित्रै मिलाउनुपर्दैन? उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ।”,उनले भने।

सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग

माओवादी पूर्वजनमुक्ति सेनाले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेका पूर्वसेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार गर्न आग्रह गरेका छन् । पूर्वजनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको उनीहरुको भनाइ थियो ।

पूर्वजनमुक्ति सेना नेपालको शनिबार बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा आफ्ना माग राख्दै उनीहरुले प्रिवर्तनका लागि लडेकाहरु गाँस, बास र कपासका लागि भौँतारिरहेको जनाउँदै सरकारले घोषणा गरेको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनीहरुले मुलुकको परिवर्तनका लागि लडेका सेनालाई अपमानजनक तरिकाले बिदा गरेको जनाउँदै अब सरकारले गरेका सहमति कार्यान्वयन नहुँदासम्म कुनै दललाई समर्थन गर्न नसक्ने भएकाले यथाशीघ्र निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित : , ०, ००७:५८

ओलीले रामकुमारीपछि प्रचण्ड र आफूलाई जेल हाल्न खोजेको माधव कुमार नेपालको खुलासा !