सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिनुभएको हो ।
सूचना प्रणाली बलियो बनाउन र एकआर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।
उहाँले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो । कुनै पनि अस्पतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा श्ययाको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिनुभयो । उहाँले बिरामी सिफारिसका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिनुभयो ।
मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुङ्गेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा गुणराज लोहनीलगायत सहभागी हुनुहुन्थ्यो ।
स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा
भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन । प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मी नै जोखिममा काम गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य सहायताकक्ष हँुदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टिनमा बसेकाको जाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री (पिपिइ) नहुँदा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पार्दै सेवा दिँदै आएका छन् ।
जिल्लामा सञ्चालन भएका स्वास्थ्य सहायताकक्षमा समेत ज्वरोमापनबाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीयवासी, भारत र अन्य ठाउँबाट आएकाको ज्वरो जाँच गर्ने गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिकाले ५२ स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले शुक्रबारबाट नगरका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीमा जोखिम घटाउनका लागि कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो ।
स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले रु एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख शाहको भनाइ छ । उहाँले भन्नुभयो, “कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको रु एक लाखको बीमा गरेका छौ ।”
कोरोना बीमा गरेका कर्मचारीलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधिमा कोरोना पोजेटिभ देखिए लगत्तै रु एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिनुभयो । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।
महामारीका रूपमा रहेको कोरना भाइरसका कारण स्थानीयवासीलाई लकडाउनमा भोकभोकै बस्न नदिन नगरपालिकाले रु दुई करोडको राहत कोष स्थापना गरेको नगर उपप्रमुख तारा खातीले बताउनुभयो । प्रत्येक वडाका वडाध्यक्षलाई अतिविपन्न, एकल दलित, मुक्तहलिया तथा खलियाको तथ्याङ्क सङ्कलन गरी राहत वितरणसमेत गरिसकेको छ । नगरपालिकाले प्रतिपरिवार ३० केजी चामल, नुन, दाल, खानेतेल र तरकारीसमेत राहत दिएको छ । बूढीगङ्गा जिल्लाको पहिलो स्वास्थ्यकर्मीको बीमा गर्ने नगरपालिका बनेको छ ।