काठमाडौँ, चैत्र २ । आइतबार दिउँसो सिरहा जिल्लामा अचम्मलाग्दो सवारी दुर्घटना भएको छ । आइतबार दिउँसो गुडिरहेको गाडीको एक्कासी टायर खुलेर २०० मिटर टाढासम्म पुगेको छ । सरकारी कार्यलायको उक्त गाडीमा रहेका सवार जिल्ला समन्वय अधिकारी राजीव झा र चालक गौतम आले भने सकुशल रहेका छन्।
राजविराजबाट सिरहातर्फ आइरहेको उक्त गाडी सिरहा सदरमुकाम पुग्न करिब २ किलोमिटर बाँकी रहँदा टायर खुलेको हो।
सिरहाको स १ झ ९१ नम्बरको जिपको दाहिने साइडको टायर गुड्दै गरेको बेला खुलेर २ सय मिटर टाढा रहेको खेतमा पुगेको हो । टायर खुलेर झण्डै ५० मिटर गाडी घस्रिएको छ।
प्रदेश प्रहरी प्रमुखद्वारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसँगै सुरक्षा चुनौतीबारे बुझ्नुभएको थियो ।
प्रदेशको लागुऔषध नियन्त्रण र कोरानाविरुद्ध सचेतना अभियानकै क्रममा आज उहाँले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारे विशेष चासोसमेत राख्नुभएको थियो । आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिनुभयो । प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत दाहालले आग्रह गर्नुभयो ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफूहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताकापूर्वक निगरानीसहित सुरक्षा दिइरहेको जानकारी दिनुभयो । यसअघि उहाँले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेको बताउनुभयो ।