कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले यसको रोगथाम बारे छलफल गर्न आज सरकारको तिनै तह बीचको बैठक १ बजेबाट सिंहदरबारमा सुरु भएको छ। आज संघ, प्रदेश र स्थानीय सरकार बीच छलफल हुँदैछ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोगथाम र नियन्त्रण उच्चस्तरिय समिति गठन गरेको छ । बैठकमा स्थानीय र प्रदेश तहको सरकारसँग कोरोना भाइरसको रोगथाम र नियन्त्रणको बारेमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने र मुख्यमन्त्रीहरूले कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम पनि रहेको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सदस्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले तीनै तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथामका लागि कसरी समन्वय गरी एकीकृत योजना बनाएर अगाडि बढ्ने विषयमा छलफल हुन लागेको जानकारी दिएका छन्।
गत डिसेम्बर देखि फैलिएको यो भाइरस अहिले विश्वभर माहामारीको रूप लिइसकेको छ । चीनमा पहिलो पटक फेला परेको कोरोना भाइरस अहिलेसम्म १३० भन्दा बढी देशमा फैलिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर १ लाख ५० हजार भन्दा बढी छन् भने यस खतरनाक भाइरसबाट अहिलेसम्म ५ हजार ५ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।