यसैबीच कालीगण्डकी गाउँपालिका–५ बाँसटारीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले प्रतिघर रु १५ हजार र प्रतिगोठको रु १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।
आगलागीबाट घर–गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो । बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसी समेत मरेका थिए ।
दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो । आगलागी हुँदा अन्दाजी रु २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ ।
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय नसार्न माग
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए ।
काँग्रेस प्रदेश नं १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग गरेका छन् । प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश सरकार विराटनगरको इतिहास मेटाउने काममा उद्यत भएको आरोप लगाउँदै यहाँको राजनीतिक, सामाजिक र ऐतिहासिक उपलब्धिलाई यथावत राख्नुपर्छ बनेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यहाँको गौरव मास्न खोज्ने विषय विराटनगरवासीलाई मान्य नहुने बताएका छन् ।
काँग्रेस विराटनगर महानगरपालिका समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले विश्वविद्यालयको विधानमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख रहेको हुँदा संशोधन गरी गोठगाउँमा लैजान नहुनेमा जोड दिए । समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका कार्यवाहक अध्यक्ष मो नसरुलले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट अन्यत्र सार्न नहुने बताए।